काठमाडौं, ११ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ्ग बोर्ड प्रदान गरेको छ । बुधबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक विशेष समारोहबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पोशराज पोखरेललाई एक सय ९० थान चेकिङ्ग बोर्ड हस्तान्तरण गरेका हुन् । उक्त चेकिङ बोर्डको लागत करिब १८ लाख रहेको कम्पनीले जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागी ट्राफिक प्रहरीले गर्ने चेकिङ्गलाई थप व्यवस्थित र सुरक्षित बनाउन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक चेकिङ्ग बोर्ड प्रदान गरिएको बताए । साथै उनले चेकिङ्ग बोर्डहरुको निरन्तर प्रयोग र थप उपयोगी बनाउन आगामी पाँच वर्षसम्म आवश्यक मर्मत संभारसमेत कम्पनीले गर्ने प्रतिबद्धता व्यक्त गरे । आगामी दिनमा ट्राफिक व्यवस्थापनका क्षेत्रमा आवश्यक सहकार्य र सहयोग गर्न कम्पनी तत्पर रहेकोसमेत उनले बताए ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले भविष्यमा पनि कम्पनीले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बताए ।
कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पोखरेलले कम्पनीले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उक्त सहयोगले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनिकरण गर्नुका साथ साथै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । प्रमुख प्रहरी नायव महानिरिक्षक पोखरेलले आगामी दिनमा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गर्दै ट्राफिक तथा सडक सुरक्षासँग सम्बन्धित कार्यक्रमहरु संचालन गर्न आतुर रहेको बताए ।