Logo

उप-मेयरकी आकांक्षी रूक्मिणी, जसले एमालेलाई ‘क्लिन स्वीप’ हुनबाट जोगाइन्



काठमाडौं,१२ माघ । बिहीबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमाले क्लिन स्वीप हुनबाट जोगिएको छ। कोशी प्रदेशमा नेकपा एमालेकी उम्मेदवार रूक्मिणी कोइराला अप्रत्यासीत रुपमा विजयी हुँदा एमाले ‘क्लिन स्वीप’ हुनबाट जोगिएको हो।

उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। प्रतिस्पर्धी माओवादीकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाइन्। प्रष्ट बहुमत हुँदा पनि सत्ता गठबन्धनले कोशीमा हार भोगेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका मतदाताले ‘फ्लोर क्रस’ गर्दा कार्कीले पराजय व्यहोर्नु पर्यो।

स्थानीय तहमा सत्तागठबन्धनका १७ जना जनप्रतिनिधि र प्रदेशमा तीन जना सांसदले ‘फ्लोर क्रस’ गरेका छन्।

राष्ट्रिय सभा निर्वाचनमा कोशीमा एमाले र राप्रपाले तालमेल गरेका थिए। एमालेका उम्मेदवार विजयी भए पनि राप्रपाका उम्मेदवार भने पराजित हुन पुगे।

राष्ट्रिय सभाका १९ सिटमा निर्वाचन भएको हो। जसमा नेपाली कांग्रेसका १०, माओवादी ५, एकीकृत समाजवादी २ र जनता समाजवादी पार्टीका एक उम्मेदवार विजयी भएका छन्। माओवादीले एक सिट गुमाउँदा एमालेले एकसिट जितेको हो।

राष्ट्रिय सभामा एमालेलाई क्लिन स्वीप हुनबाट कोशी प्रदेशले जोगाएको यो दोस्रो पटक हो । यसअघि २०७८ सालको माघमा सम्पन्न निर्वाचनमा पनि यहि सत्ता गठबन्धनका उम्मेदवाविरुद्ध कोशीमा एमालेले अप्रत्याशीत जित निकालेको थियो ।

त्यसबेला अहिलेकै सत्ता गठबन्धनविरुद्ध राष्ट्रियसभाका १९ पदका निम्ति एक्लै चुनावमा भाग लिएको एमालेले कोशीमा सोनाम ग्याल्जेन शेर्पालाई जिताएको थियो । अल्पसंख्यक कोटातर्फ शेर्पाले सत्ता गठबन्धन तर्फबाट उम्मेदवार रहेका जनता समाजवादी पार्टी (जसपा) का हेमराज राईलाई हराएका थिए ।

शेर्पाले प्रदेशसभाका ४२ र स्थानीय तहका पदाधिकारीहरुबाट १५२ मत गरी ४ हजार ७५२ मतभार पाएर जितेका थिए । तर गठबन्धनकै मत क्रस भएपछि राईले ४ हजार ३८६ मतभार मात्रै पाएका थिए । उनलाई ४९ जना प्रदेशसभा सदस्य र ११३ जना पालिका पदाधिकारीले मत दिएका थिए ।

२०७८ को माघ एमालेले कोशीमा फेरि दोहोर्याएको छ । जसले गर्दा सत्ता गठबन्धनमा ठूलै हलचल भइरहेको छ । एमाले उत्साहित हुँदा माओवादी आक्रोशीत बनेको छ । यता नेपाली कांग्रेस भने संयमित देखिएको छ ।

एमालेलाई ‘क्लिन स्वीप’ हुनबाट जोगाउने रूक्मिणी को हुन् ?

सुनसरीको इटहरी निवासी रुक्मिणी कोइराला नेकपा एमालेकी पुरानो कार्यकर्ता हुन । एमालेको राजनीतिमा भिजेकी कार्यकर्ताको छवि बनाएकी कोइराला १७ वर्षमा इटहरीका केदारनाथ कोइरालासँग बिवाह गरेर आएपछि एमालेको राजनीतिमा सक्रिय भएकी हुन् ।

उनका जेठाजु स्व.ओम कोइराला सुनसरीका पुराना वामपन्थी नेता हुन् । विद्यार्थी राजनीतिबाट रातो झन्डा समूह उनी वामपन्थी राजनीतिमा होमिएका थिए ।

स्व.कोइराला कोआर्डीनेशन कमिटी हुँदै एमालेको राजनीतिमा सक्रिय भएपछि कोइरालाको सङ्गतमा उनी पनि परेर एमालेको राजनीतिमा लागेकी हुन् । कोइरालाले तत्कालीन समयमा मालेका नेताहरु जननेता मदन भण्डारीलगायतलाई भूमिगत कालमा सेल्टरदाताको रुपमा खाना पकाएर खुवाएकी थिईन् । उनले २०५४ सालमा तत्कालीन इटहरी नगरपालिकामा ५ वर्ष वडास दस्यको रुपमासमेत जिम्मेवारी निर्वाह गरेकी थिईन् ।

संघीयतापछि इटहरी उपमहानगरपालिकाको उपमेयरको दावी गरेकी कोइरालाले दुवै निर्वाचनमा टिकट पाईन्न । बरु उनका देवर माधव कोइराला भने गत वर्षको स्थानीय तह निर्वाचनमा एमालेबाट इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा वडाध्यक्ष निर्वाचित भएका छन् ।

रुक्मिणी लामो समय महिला स्वास्थ्य स्वयमसेवीका भएर समेत काम गरिन् । केही अघिबाट महिला स्वास्थ्य स्वयंसेवीकाबाट पनि राजीनामा दिएकी कोइराला अनेमसंघ केन्द्रीय सदस्य हुन् ।

उनी अनेमसंघ सुनसरीको इन्चार्जको जिम्मेवारीमा रहेर काम गर्दै आएकी छन् । रुक्मिणी २०३६ साल देखि पार्टीको सम्पर्क रहेको थिइन । ४० पछाडि भने निरन्तर पार्टीमा रहेर काम गर्दै आएकी हुन् ।

राष्ट्रिय सभामा परिस्थितिलाई बुझेर र हेरेर आफूले सशक्त ढंगले भूमिका निर्वाह गर्न प्रयास गर्ने उनको भनाइ छ । महिला आन्दोलनबाट आएको हुनाले त्यसकै बारेमा अगुवा भएर केही गर्ने उनको भनाइ थियो । उनी अर्थ समितिका सभापति रहेका प्रतिनिधि सभा सदस्य ऋषिकेश पोख्रेलकी सासु आमा समेत हुन् ।



प्रतिक्रिया दिनुहोस्