काठमाडौं,१६ माघ । सोमबार प्रतिनिध सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृति स्रोत समितिको बैठकमा सांसद र सभापतिबीचको नोकझोकले अहिले सामाजिक सञ्जाल तातिरहेको छ ।
सामाजिक सञ्जालमा भाइरल भईरहेको एउटा भिडियोमा सांसद प्रेम सुवाल र समिति सभापति आरजु राणा देउवाबीच निक्कै नोकझोक चलेको देखिन्छ । सोमबारको समिति बैठकमा चर्चाचर्की गर्ने सांसद हुन् नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिवसमेत रहेका प्रेम सुवाल ।
भक्तपुरको राजनीतिमा सदैव सत्तापक्ष र संसदीय राजनीतिमा प्रतिपक्षीको छवि बनाएको नेमकिपाका उनी एक्लो सांसद हुन् । २०७४ र ०७९ सालको संसदीय निर्वाचनमा लगातार भक्तपुर १ बाट विजयी बनेका उनी संसद र समिति दुवैमा खरोरुपमा उत्तिँदै आएका छन् । सोमबारको समितिको बैठकमा पनि त्यहि भयो जे यसअघि पनि हुँदै आएको थियो ।
सोमबारको समिति बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको थियो। बैठकमा उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजाल पनि उपस्थित रहेका थिए ।
बैठकमा सांसद सुवालले आफ्नो पालो आएपछि जनजीविकासँग प्रत्यक्ष जोडिएका पानी, तरकारी, औषधि, दूधलगायतका खाद्यवस्तुको स्वच्छताको बारेमा गहन कुरा राखिरहेका थिए।
सुवालले आफ्नो संशोधन प्रस्तावको सुरुवातमा प्रजातान्त्रिक समाजवादको कुरा गर्ने मन्त्री र सभापतिले विधेयकमा धान, गहुँ मकै, सुन्तला, स्याउ लगायतका खाद्यपदार्थ आफैले उत्पादन गर्ने भन्ने कुरा प्रस्तावनामा ल्याउने पर्ने बताए। त्यस्तै उनले यस्ता बैठकमा सांसदसँगै सरोकारवाला चिकित्सक तथा पोषणविद्को पनि सुझाव लिनु पर्ने कुरा उठाए।
‘बिपी कोइरालालाई त तपाईँहरूले बिपी प्रतिष्ठानमै बेच्नुभयो नि। भ्रष्टाचारको अखडा सबै थाहा छ हामीलाई। सभापतिज्यूले ठुलो कुरा गर्नुपर्दैन,’ प्रेम सुवालले आरजुतर्फ लक्षित गर्दै भने, ‘कुन–कुन प्रधानमन्त्रीको पालामा क–कसले भ्रष्टाचार गरेको सबै थाहा छ हामीलाई।’
सांसद सुवालले यसो भन्दैगर्दा उद्योगमन्त्री रमेश रिजालले रोक्न पुगे । मन्त्री रिजालले मान्यज्यू अब त्यतापट्टि नजाउँ भनेपछि सांसद सुवाल थप कड्किय । एकाएक समिति सभापति आरजु राणामाथि खनिएका सुवाललाई रोक्ने प्रयास गर्दै सभापति देउवालाई पोइन्टमा जान आग्रह गर्छिन् ।
सभापतिले पोइन्टमा कुरा राख्न आग्रह गरेपछि झनै रिसाएका सुवाल यतैकैमा रोकिने अवस्थामा देखिँदैनन् । ‘पोइन्ट नै हो। तपाईँहरूलाई घोचेपछि पोइन्टमा पर्दैन। सबै थाहा छ सभापतिज्यू,’ सुवालले भन्छन् , ‘तपाइहरू त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि । गरिब जनताको किन सुन्नुपर्छ रु सबै थाहा छ हामीलाई ।’ राणा
यस्तो छ सभापति राणा र सांसद सुवाल बीचको सवाल–जवाफ
आरजु राणाः पोइन्ट टु द पोइन्ट गरिदिनुस् ।
प्रेम सुवालः पोइन्ट नै हो । तपाईहरुलाई घोचेपछि पोइन्टमा पर्दैन । सबै थाहा छ सभापतिज्यु । तपाईहरुलाई घोचेको कुरा मन पर्दैन सबै थाहा छ हामीलाई । तपाईहरु त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि । गरिब जनताको किन सुन्नुपर्छ रु सबै थाहा छ हामीलाई । प्रजातान्त्रिक समाजवाद पनि थाहा छ । नाटक नै नाटक त हो नि । बिपी कोईरालालाई त तपाईहरुले बिपी प्रतिष्ठानमै बेच्नुभयो नि । भ्रष्टाचारको अखडा सबै थाहा छ हामीलाई । सभापतिज्युले ठूलो कुरा गर्नुपर्दैन । कुन–कुन प्रधानमन्त्रीको पालामा क–कसले भ्रष्टाचार गरेको सबै थाहा छ हामीलाई ।
उद्योगमन्त्रीः त्यतातिर नजाऔँ माननीयज्यु ।
प्रेम सुवालः किन नजाने ? किन रोक्नुभयो ? म बोल्दिन के(टेबल ठटाउँदै) उभिएर र पुनः टेबल ठटाए ।
आरजु राणाः रोकेको होइन । रोकेको होइन । प्लिज टु द पोइन्ट गरिदिनुहोस् भनेको हो के । प्लिज बस्नुस् माननीयज्यु । बस्नुस् । आफ्नो पोइन्ट राखेर जानुस् ।
प्रेम सुवालः तपाईलाई घोचेपछि रोक्ने ? किन रोक्नुभयो ?
आरजु राणाः दुई, तीन वटा बाँकी छ अब । तपाईले गरेर जानुस् । मन्त्रीज्यु कुरिरहनुभएको छ ।
प्रेम सुवालः त्यसरी रोक्न पाइँदैन । पक्षपात गर्न पाइँदैन ।
आरजु राणाः रोकेको होइन । पक्षपात गरेको होइन ।
प्रेम सुवालः किन होइन ?
आरजु राणाः पक्षपात गरेको होइन । सिध्याएर जानुस् आफ्नो कुरा । व्याख्या धेरै नगर्नुस् मात्रै भनेको ।
प्रेम सुवालः (बस्दै) तपाईहरुको समर्थन गर्न आएको होइन म ।
आरजु राणाः समर्थन खोजेको होइन । यो त संशोधन गर्नैपर्छ ।
प्रेम सुवालः बिरोध गर्नासाथ किन रोक्नुभयो ?
आरजु राणाः मलाई लाग्दैन कि तपाईले गरेको बिरोध हो । मलाइ यो बिरोध होइन जस्तो लाग्छ । यो ठिक छ । संशोधन हाल्नैपर्छ ।
प्रेम सुवालः आज युवाजति ८० लाख विदेश पठाउनु भयो । आज देश ध्वस्त पार्नुभयो । तपाईहरुले किन रोक्नुभयो ।
अन्य सांसदहरुः नरिसाउनु न माननीयज्यु
आरजु राणाः छोटो मात्रै गर्नुस् भनेको हो । कुरा राख्नुहोस् भनेको हो ।
प्रेम सुवालः अरु कसैलाई भन्नुपर्दैन । मलाई किन भन्नुपर्छ सभापतिज्यू ? त्यस्तो पक्षपात गर्न पाइँदैन ।
आरजु राणाः ठिक छ ठिक छ प्लिज । तपाई लामै राख्नुस् । लामै राख्नुस् । दिनभरी हामी यहीँ बस्न आएको हो ।
प्रेम सुवालः यस्तो नचाहिने नचाहिने कुरा । औद्योगिक क्षेत्रहरुमा उत्पादन भएको सबै अधिकांश सामानमा खाद्य स्वच्छता कायम छैन । तपाई उद्योगको मन्त्री रमेश रिजाल (उद्योगमन्त्रीलाई इंकित गर्दै) के यो बोल्न पाउँदैन ?
उद्योगमन्त्रीः पाइन्छ, पाइन्छ किन नपाउनु ?
प्रेम सुवालः तपाईको मातहतको काम राम्रोसँग गर्नुप¥यो । जनतालाई धोका दिन पाइँदैन मन्त्रीज्यु ।
प्रेम सुवालः ६ महिना यता ४ अर्ब रुपैयाँको तरकारी आयात भयो । त्यो पनि विषादी भएको । चेकजाँच गर्नुपदैन ? विषादी भएको तरकारी खुवाउन मिल्छ ? यही हो खाद्य स्वच्छता ? मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहान्छु सभापति महोदयमार्फत धन्यवाद ।
सोमबारको बैठकमै उद्योगमन्त्री रिजाल र एमाले नेता गोकुल बाँस्कोटाबीच पनि नोकझोक चलेको थियो । उद्योगमन्त्री रिजालले आफ्नो कुरा छिटो राख्न भनेपनि बाँस्कोटाले तपाई मन्त्री होकि सभापति भन्दै आक्रोश व्यक्त गरेका थिए । समिति सभापति आरजु राणा देउवाले बाँस्कोटालाई रोक्दै एमालेकै अर्की सांसद विद्या भट्टराई अधिकारीलाई बोल्न समय दिएपछि बाँस्कोटा झोकिएका थिए ।