काठमाडौं,१६ माघ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा अोली समकालीन राजनीतिको सबैभन्दा सफल राजनीतिज्ञ भएको दाबी गरेकी छन् ।
मंगलबार ओलीले विभिन्न समयमा संसद्मा गरेका सम्बोधन समेटिएको ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक आज लोकार्पण गर्दै पूर्व राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् । उनले ओलीमा राजनीतिका साथै कला, साहित्य, विज्ञान तथा धर्म र दर्शनमा गहन ज्ञान भएकाले धेरैको प्रेरणाको स्रोत भएको बताइन् ।
‘केपी शर्मा ओलीज्यू समकालीन नेतामा पृथक पहिचान बनाउनु भएको नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताको रुपमा उच्च स्थान प्राप्त गर्न सफल एमालेको अध्यक्ष र प्रधामनन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ,’ भण्डारीले भनिन्, ‘राजनीतिका साथै कला साहित्य, धर्म गहन ज्ञान भएको नेता हुनुहुन्छ । सघन अध्ययन र लामो संघर्षले खारिनु भएका नेता हामी सबैका प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ ।’
सानीमैंया खड्काले लेखेको उक्त पुस्तक पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रमकाबीच लोकार्पण गरेकी हुन् । समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा एमाले अध्यक्ष अोली, महासचिव शंकर पोखरेललगायत नेताहरु उपस्थित रहेका थिए ।
पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको लेखक सानीमैँया खड्काले जानकारी दिइन् । २०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसद्को २३ वटा अधिवेशनमा भाग लिएको पनि पुस्तकमा उल्लेख गरिएको छ ।