काठमाडौं, १७ माघ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानांगले भ्रष्टाचार नियन्त्रणका लागि बलियो कानुन बनाउन पर्नेमा अहिले संसद्मा भ्रष्टाचारलाई प्रोत्साहन गर्ने विधेयकहरु लगिएको आरोप लगाएकी छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति सुद्धीकरण र भ्रष्टाचार निवारण सम्बन्धि धेरै विधेयक संसदमा लगिएको र उक्त विधेयक पारित भएमा नेपाल ब्ल्याक लिष्टमा पर्ने खतरा रहेको बताएकी हुन् ।
‘भ्रष्टाचार नियन्त्रणका लागि सदनमा पहिलेको कानुनभन्दा अझ बलियो कानुन लग्नुपर्ने थियो । भ्रष्टाचारलाई मलजल दिने खालको विधेयकहरु लगिएको छ अहिले । धेरै वटा विधेयकहरु छन्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छ, सम्पत्ति सुद्धीकरणको पनि छ । भ्रष्टाचार निवारण सम्बन्धि अरु पनि छन् । ती विधेयकहरु जसरी लगिएको छ, त्यसरी पास नगर्न हामीले ध्यानाकार्षण गराएका छौं । उहाँहरु जसरी भएपनि पास गराउने पक्षमा हुनुहुन्छ । त्यो भयो भने नेपाल भ्रष्टाचार ग्रस्त मुलुकहरुमा पर्छ । सम्पत्ति सुद्धीकरण सम्बन्धी विधेकय पास भयो भने नेपाल ब्ल्यक लिष्टमा पर्ने सम्भावना छ,’– उनले भनिन् ।
कुनै व्यक्तिसँग भएको अवैध सम्पत्तिलाई कुनै अभियोग लगाउन नसकिएको खण्डमा कर तिराएर वैद्य बनाउने गरी अहिलेको सम्पत्ति सुद्धीकरण विधेयक ड्राफ्ट गरिएको उनको दाबी छ । ‘कुनै व्यवसाय नगरी र भ्रष्टाचार विना त्यो पैसा कहाँबाट आउँछ र त्यसलाई कर तिराएर मात्रै वैद्य गराउने ?’ भन्दै उनले प्रश्न गरिन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपाल ३५ अङ्कसहित एक सय आठौँ स्थानमा छ ।
नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको भएपनि ५० अंकभन्दा कम अंक प्राप्त गर्नुले नेपालमा भ्रष्टाचार व्याप्त रहेको पुष्टि गर्ने अध्यक्ष प्रधानांगले बताईन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका एक सय ८० मुलुकको भ्रष्टाचारको अवस्था विश्लेषण गरेकामा कम भ्रष्टाचार हुने मुलुकमा ९० अङ्कसहित डेनमार्क पहिलो स्थानमा छ । त्यस्तै, कम भ्रष्टाचार हुने मुलुकमा फिनल्यान्ड दोस्रो, न्यूजिल्यान्ड तेस्रो, नर्वे चौथो र सिङ्गापुर पाँचौं स्थानमा छन् । त्यसपछि क्रमशः स्वीडेन, स्विजरल्यान्ड, नेदरल्यान्ड, जर्मनी र लग्जेम्बर्ग छन् ।
उक्त सूचीमा सोमालिया ११ अङ्कसहित एक सय ८०औँ स्थानमा छ । त्यस्तै भेनेजुयला, सिरिया, दक्षिण सुडान, यमनलगायत मुलुकहरु बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा छन् । नेपालका दुई छिमेकी मुलुकमध्ये भारत ३९ अङ्कसहित ९३औँ स्थानमा र चीन ४२ अङ्कसहित ७६औँ स्थानमा छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनको भ्रष्टाचार अनुभूति सूचकाङ्कले सम्बन्धित देशको सार्वजनिक क्षेत्र कति भ्रष्ट छ भन्ने कुरा देखाउँछ । यो सूचकाङ्क तयार पार्नका लागि विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरमलगायत विभिन्न संस्थाबाट प्राप्त तथ्याङ्कलाई विश्लेषण गरिएको अध्यक्ष प्रधानांगले बताईन् । file photo/RN