Logo

एमाले नेता रिजाल भन्छन्, ‘ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर गल्ती गरेकै हो’



काठमाडौं, १८ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले आफूहरुले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएर गल्ती गरेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यसको जिम्मा एमालेले लिनुपर्ने र लिन तयार रहेको बताएका हुन् । प्रचण्डले एमालेको समर्थनमा प्रधानमन्त्री बनेको २५ दिनमै धोका दिएर कांग्रेसको शरणमा पुगेको उनको टिप्पणी छ ।

‘गल्ती भन्नुहुन्छ भने प्रचण्डलाई प्रधानमन्त्री बनाएर हामीले गरेको हो । यसलाई तपाईँ गल्ती भन्नुहुन्छ र त्यहाँबाट राजनीति बिग्रियो भन्नुहुन्छ भने यसको हामीले जिम्मा लिनुपर्छ । प्रचण्डलाई एमालेले प्रधानमन्त्री बनाएको हो । प्रचण्डलाई केपी शर्मा ओलीले प्रधानमन्त्री बनाउनु भएको हो ।’ उनले भने, ‘उहाँले २५ दिनपनि नबित्दै जुन ढंगको धोका दिनुभयो र जुन सहमति बनेको थियो, त्यो सहमति उल्लङ्घन गरेर उहाँ फेरि कांग्रेसको शरणमा जानुभयो । यसले राजनीतिमा जे पनि हुन्छ भन्ने एउटा विकृत उद्धाहरण दियो ।’

एमाले जनताको रोजाइको पहिलो पार्टी भएको स्मरण गराउँदै उनले आफूहरुका विरुद्ध अङ्कगणित खडा गरेर प्रमुख प्रतिपक्षमा राखिएको बताए । एमालेले प्रमुख प्रतिपक्षको भूमिकामा आफूलाई खरो उतार्न चाहेको र आफूहरुले सडक, संसद् र अन्य फोरमहरुबाट अहिले देश र जनताले भोगिरहेका समस्या र समाधानका बारेमा खबरदारी गरिरहेको बताए । उनले अबको संसद् अधिवेशनमा जनताका मुद्दामा एमालेले आफूलाई खरो ढंगमा उतार्ने बताए ।

साथै, उनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले भाग खोजेको भन्ने कुरामा सत्यता नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्