Logo

केन्द्र, प्रदेशदेखि वडाध्यक्षसम्म २५ स्थानमा जनप्रतिनिधि रिक्त, बैशाखमा उपनिर्वाचनको तयारीमा आयोग



काठमाडौं,१८ माघ । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोग उपनिर्वाचनमा जुटेको छ ।

स्थानीय तह, प्रदेश र केन्द्रमा समेत रिक्त जनप्रतिनिधि परिपूर्तिका लागि आयोगले आफ्नो काम थालेको हो । निर्वाचन आयोगले सरकारसँग अनौपचारिक रुपमा छलफलसमेत गरेको छ ।

सरकारसँगको छलफलपछि छिट्टै उपनिर्वाचनको मिति तय हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले यसअघि यहि माघमा उपनिर्वाचन गर्ने तयारी गरेपनि राष्ट्रिय सभा निर्वाचनको कारण उपनिर्वाचनको मिति पर सरेको हो । आयोगले सकेसम्म बैशाखमै र सम्भव नभए जेठको पहिलो साता उपनिर्वाचन गर्नेगरी काम अगाडि बढाएको छ ।

संविधानको धारा २१५ को उपधारा ९ मा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ ।

यस्तै संविधानकै धारा २१६ को उपधारा ९ मा नगरपालिकाको प्रमुख वा उपप्रमुख एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ । वडा अध्यक्षको हकमा पनि यही कानूनी व्यवस्था छ । ऐनको सोहि व्यवस्थालाई पालना गर्दै निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटेको हो ।

आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी कुल २५ पद रिक्त छन्, जसमध्ये दुई पद जिल्ला समन्वय समितिका प्रमुखको छ ।

आयोगका अनुसार देशचर १७ वडाध्यक्षको पद रिक्त छन् । नगर उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष एक र उपाध्यक्षको दुई पद रिक्त छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको एक एक पद रिक्त छन् ।

यसरी रिक्त हुनेहरुमा गत वर्ष सम्पन्न आम निर्वाचनमा ईलाम २ बाट निर्वाचित संविधान सभाका अध्यक्ष, पूर्व सभामुख नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बावङको निर्वाचन क्षेत्र इलाम २ रहेको छ । नेम्वाङको गत भदौ २६ गते आकस्मिक निधन भएपछि संघीय संसद्मा एक सिट खाली रहेको हो । यसैगरी सवारी दुर्घटनामा परी प्रदेश सभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएसँगै उनी निर्वाचित बझाङ १ (१) रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेल अघिल्लो पुसमा मिर्गौला फेल भएर निधन भएपछि यो पद रिक्त छ । त्यस्तै ओखलढुंगाका जिसस प्रमुख डिल्लीराम खनाल गत १३ असोजमा उपचारका क्रममा निधन भएपछि पद रिक्त छ ।

दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको उच्च रक्तचापका कारण गत माघमा निधन भएपछि यो पद पनि रिक्त छ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातबाट निधन भएपछि पद रिक्त छ ।

नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको गत कार्तिक १७ गते गएको विनासकारी भूकम्पमा परेर ज्यान गएको हो । उनी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित उपमेयर हुन् ।

त्यस्तै बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको गत माघ ४ गते निधन भएको थियो । उनी पनि नेपाली कांग्रेसको तर्फबाट निर्वाचिन पालिका उपाध्यक्ष हुन् ।

यी वडा जहाँ पद रिक्त छन् ।

गढी गाउँपालिका ६– वडाध्यक्ष सदानन्द उरावं

त्रियुगा नगरपालिका १२–वडाध्यक्ष चुडाराज काफ्ले

इशनाथ नगरपालिका ६ – वडाध्यक्ष….

राजपुर नगरपालिका ६– वडाध्यक्ष शेख मोजरे आलम

कीर्तिपुर नगरपालिका ४– वडाध्यक्ष श्यामकुमार अधिकारी

ककनी गाउँपालिका २– वडाध्यक्ष तिलकबहादुर लामा

हेटौंडा उपमहानगरपालिका १२– वडाध्यक्ष ललितबहादुर घलान (जिसस प्रमुख बनेका )

गोरखा नगरपालिका ५– वडाध्यक्ष खिलबहादुर लामा

रुन्टिगढी गाउँपालिका ४– वडाध्यक्ष टंकबहादुर पुन

ठाकुरबाबा नगरपालिका ४– वडाध्यक्ष सूर्यबहादुर विष्ट (जिसस प्रमुख बनेका)

तिलागुफा नगरपालिका ४–वडाध्यक्ष परमबहादुर शाही

कुशे गाउँपालिका ७– वडाध्यक्ष मनबहादुर घर्ती

दुहुँ गाउँपालिका ५– वडाध्यक्ष मनोरथ भट्ट

सुर्मा गाउँपालिका ४– वडाध्यक्ष सर्जन बोहरा

पुर्वीचौकी गाउँपालिका ६ – वडाध्यक्ष पुष्पराज जोशी

काठमाडौं महानगरपालिका १६– वडाध्यक्ष मुकुन्द रिजाल

गुल्मीको मुसिकोट नगरपालिका– १ का वडाध्यक्ष मोहन घिमिरे



प्रतिक्रिया दिनुहोस्