काठमाडौं,१९ माघ । पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर मानव अधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गर्दा आफ्नो पार्टी अध्यक्ष प्रभु साहको समेत नाम उल्लेख गरेको भन्दै आपत्ति जनाएको छ ।
शुक्रबार आजपाका प्रवक्ता चन्द्रभुषण साहले एक विज्ञप्ति जारी गर्दै बिना कुनै आधार र प्रमाण कपोलकल्पित, कुण्ठित एवं पूर्वाग्रही ढंगले मानव अधिकार उल्लंघन कर्ताको रुपमा किटान गरि मानव अधिकार आयोगद्वारा सम्प्रेषित आपत्तिजनक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘यस अपरिपक्व एवं लापरवाहीपूर्ण सम्प्रेषणप्रति स्वयं पार्टी अध्यक्षले असन्तुष्टि एवं आक्रोशका साथ कुन घटनामा कहिले र कसको मानव अधिकार हनन भएको हो ? भन्ने सत्य, तथ्य सार्वजनिक गरी अपराध प्रमाणित गर्न आयोगका पदाधिकारीहरुलाई खुला चुनौती समेत दिईसकेको सन्दर्भमा आयोग अब मौन बस्न मिल्दैन’ आजपाले भनेको छ ।
अध्यादेशको चोर बाटो र भागबन्डाको राजनीतीमा केवल निगाह र कृपादृष्टिको भरमा महत्वपूर्ण एवं संवेदनशील संवैधानिक आयोगमा नियुक्ति लिने र कुनै अमुक व्यक्ति वा पार्टीको लंगोट बनि सम्मानित संस्थाको समेत मानमर्दन हुनेगरी हुर्मत लिने तथा समाजको एउटा प्रतिष्ठित व्यक्ति एवं पटक पटक जनअनुमोदित प्रतिनिधिको चरित्र हत्याको दुस्प्रयास गर्ने काम भएको भन्दै आजपाले घोर विरोधसमेत जनाएको छ ।
‘यस किसिमको गैरजिम्मेदाराना हर्कत गर्नु आफैँमा दुखद, निन्दनीय एवं अपराधीक कार्य समेत हुने भएकोले यसप्रति सम्बन्धित पक्ष समयमैं गम्भीर जिम्मेवार एवं जवाबदेही बन्न जरूरी छ । तसर्थ, मानव अधिकारको रक्षा र विधिको शासन सहित सामाजिक न्याय, सुशासन, बदलाव, विकास र समृद्धिका निम्ति निरन्तर वकालत गर्दै आएको कारण हाम्रो पार्टीको बढ्दो प्रभाव, सक्रियता एवं लोकप्रियताबाट आतंकीत भई पार्टी अध्यक्षको चरित्र हत्या एवं मानमर्दन हुने किसिमले आएको यो निराधार सम्प्रेषणलाई आयोग वा यसमा संलग्न पदाधिकारीले यथाशीघ्र सच्चाई सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्छ अन्यथा हामी कानूनी उपचार सहित थप विभिन्न प्रारुपमा चरणबद्ध संघर्ष गर्न बाध्य हुनैपर्छ र यसबाट सृजित हुने सम्पूर्ण क्षतिको जिम्मेवारी आयोग र नेपाल सरकारले नै लिनुपर्ने विषय अग्रीम रुपमा चेतावनीका साथ अवगत समेत गराउन चाहन्छौं’ आजपाले विज्ञप्तिमा भनेको छ ।
मानव अधिकार आयोगले विभिन्न समयमा प्राप्त भएका गुनासो र उजुरीलाई छानबिन गर्नेक्रममा बुधबार मानव अधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको थियो । जसमा तत्कालीन माओवादी नेतासमेत रहेका आजपा अध्यक्ष प्रभु साहको नाम पनि समावेश गरिएको छ ।