इलाम, २१ माघ । इलामको सूर्योदय नगरपालिका–१ का सन्तोष बजगाईं गाउँमा उत्पादित कृषिउपज सङ्कलन गरेर भारतीय सीमाक्षेत्र मानेभञ्ज्याङ बजारमा बिक्री गर्न लैजानु हुन्छ । पैदल यात्रा गर्न करिब तीन घन्टा लाग्नेमा सडक बनेपछि अहिले उनलाई बजार पुग्न सहज भएको छ ।
“बाटो अप्ठ्यारो हुँदा घोडामा तीन–चार घन्टासम्म लाग्थ्यो । अहिले बाटो सजिलो भएको छ । घोडाले नाल झार्छ भन्ने पीर छैन । बर्खामा पनि गाडीमा जान सकिने भएको छ”, बजगाईंले भने ।
सूर्योदय नगरपालिकाले भौतिक पूर्वाधार क्षेत्रअन्तर्गत २८ वर्षका लागि नगर सडक यातायात गुरुयोजना (एमटिएमपी) निर्माण गरी ‘एक वडा एक बाह्रमासे’ (अलवेदर) सडक निर्माण गरिरहेको छ ।
सडक निर्माण सुरु गरेको चार वर्ष भइसकेको नगरप्रमुख रणबहादुर राईले बताए । “प्रत्येक वडामा एउटा हुनेगरी १४ वडामा छ सय ६५ किलोमिटर सडक निर्माण गर्न २८ वर्षे दिगो योजना निर्माण गरेका छौँ”, उनले भने, “त्योमध्ये चार वर्ष बितेको छ । अब २४ बर्ष बाँकी छ । प्रत्येक वर्षको लक्ष्य किटान गरिएको हुँदा हालसम्मको प्रगति राम्रो छ ।”
सुरुआत गर्दा तीन सय मिटर मात्र अलवेदर रोड र कालोपत्र सडक एक किमी तीन मिटर मात्र रहेको बताउँदै राईले हाल मेची राजमार्गभन्दा बाहेक १३ किमी कालोपत्र र एक सय १० किमी अल वेदर रोड निर्माण भइसकेको जानकारी दिए । विगतमाभन्दा ग्रामीण क्षेत्रका किसानलाई बजार पुग्न, विद्यार्थीलाई विद्यालय आवतजावत गर्न र बिरामीलाई तत्काल अस्पताल पुग्न सजिलो भएको उनको भनाइ थियो ।
“एकैपटक सबै विकास सम्भव छैन । २८ वर्षमा सफलता हात पर्ने गरी दिगो विकासको लक्ष्य लिएर नगरपालिकाले काम गरिरहेको छ”, नगरप्रमुख राईले भने ।
किसानले दुःख गरेर उत्पादन गरेका उपजले सडक अभावकै कारण बजार नपाउने समस्याको अन्त्य भएको किसान बताउँछन् ।
“हामीले बर्खामा बाटो नहुँदा कति दुग्धजन्य उत्पादन त्यसै पोखेका थियौँ । हाम्रा टमाटर बजारसम्म पुग्न नपाएर धेरै कुहिएका थिए । त्यो समस्याबाट मुक्ति पाएका छौँ”, कृषक ख्यामराज रिजालले भने । जथाभावी बाटो विस्तार गर्ने तर समयमा निर्माण सम्पन्न नहुँदा पहाडी क्षेत्रका बासिन्दालाई हिलो, चिप्लो र पहिरोको त्रास भइरहने स्थानीयको भनाए छ ।
सूर्योदय नगरपालिकाले एक वडा एक अलवेदर सडकको अवधारणा ल्याएर दिगो विकासको काम गरिरहँदा सेवाग्राहीले लाभ लिन थालेको स्थानीय गोविन्द सापकोटाले बताए । “अबको २५ वर्षमा सबै वडामा कालोपत्र पुग्ने नगरपालिकाले काम गरेको देखिन्छ”, उनले भने, “हाम्रा लागि नभए पनि छोरानातीको पालामा सुविधासम्पन्न गाउँ बन्नेछ ।” दीर्घकालीन विकासको यात्रामा लम्किएको सूर्योदयलाई अब दोस्रो पुस्ताले दुई दशकपछि सम्झिएर धन्यवाद दिने सापकोटाले बताए ।
बाटो बनाउन मेसिन प्रयोग गरेर काम देखाउने र जनताको आँखामा भ्रम छर्ने परम्परागत तरिकालाई हटाएर दिगो विकासको मोडलमा पालिका अघि बढेको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताए ।
“माटो र बाटोमात्र विकास हो भन्ने परम्परागत भाष्यलाई परिवर्तनका लागि आर्थिक, सामाजिक, वातावरण र सुशासन क्षेत्रको विकासका लागि समानान्तररूपमा योजना तथा कार्यक्रम अघि बढाइएका छौँ”, उनले भने, “पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चतताका लागि नगरपालिकामा नै पूर्वाधार परीक्षण प्रयोगशाला स्थापना गरी गुणस्तर सुनिश्चितताका साथै आन्तरिक आयको दायरा बढेको छ ।”
सूर्योदयका किसानले चियापछि धेरै दुग्ध उत्पादन गर्छन् । चियालाई स्थानीय उद्योगमा पु¥याउन, दुग्धलाई डेरीमा लैजान र आलु, अलैँची, अदुवा, स्कुस, साग, टमाटरजस्ता कृषि उत्पादनलाई बजार पु¥याएर बिक्री गर्न बाह्रमासे सडकले ठूलो राहत गरेको किसान बताउँछन् ।
भारतसँग जोडिएको मानेभञ्ज्याङ, पशुपतिनगर र फाटकसहित स्थानीय, फिक्कल, हर्कटे, आइतबारे, गोर्खेलगायत बजार यहाँका किसानको मुख्य व्यापार स्थल हो । “मानेभञ्ज्याङ, पशुपतिनगर, फाटक, गोखेबाहेकका सबजसो बजार मेची राजमार्गले छोएका छन् । त्यहाँसम्म पुग्न गाउँको भित्रि कुनाबाट एक घण्टा देखि पाँच घण्टा सम्मको पैदल बाटो हिँड्नुपर्ने बाध्यता सडक संरचनाको पहुँचले हटाएको छ”, किसान सरोज पोखरेलले भने । धेरैले गाडीमा सामान ढुवानी गर्न थालेका भन्दै कतिपयले घोडाकै प्रयोग गरिरहेका उनले बताए । रासस