काठमाडौं, २१ माघ । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश दिएको छ ।
पूर्वसांसदसमेत रहेका तामाङलाई विशेष अदालतले सम्पत्ति सुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद, ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने र विगो रमक बराबरकै जरिवाना तोकेको हो ।
गत माघ ७ गते तामाङलाई विशेष अदालतले सम्पत्ति सुद्धीकरण अभियोगमा दोषी ठहर गरेको थियो । तामाङलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज उक्त सजाय तोकेको हो ।
उनीसँगै, उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई पनि सजाय तोकिएको छ । विशेषले सिर्जना डेढ वर्ष कैद, एक अर्ब ३ करोड रुपैयाँ बिगो र बिगो बराबरकै जरिवाना तोकेको छ । केशवराजलाई पनि डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र बिगो बराबरकै जरिवाना तोकिएको छ ।
त्यसैगरी विशेष अदालतले ईच्छाराज, श्रृजना, केशब, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न आदेश दिएको छ ।