काठमाडौं, २४ माघ । नेकपा मालेका महासचिव सीपी मैनालीले १० वर्षे माओवादी आन्दोलन भारतबाट सञ्चालित भएको आरोप लगाएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले २०४६ सालको आन्दोलनपछि आफूहरुलाई भारतको एजेन्सीमार्फत् ‘तपाईँहरुले शान्तिपूर्ण आन्दोलन गरेर राजा फाल्न सक्नु हुन्न । राजा फाल्न हतियार बोक्नुहुन्छ भने भारतले पूरा सहयोग गर्छ’ भन्ने सूचना आएको दाबी गर्दै उनले माओवादी सशस्त्र युद्ध भारतबाट सञ्चालित भएको आरोप लगाए ।
राजा फाल्नका लागि २०४६ सालको आन्दोलनपछि हतियारसहितको युद्धका लागि मालेलाई प्रस्ताव आएको र मालेले भारतको उक्त प्रस्ताव अस्वीकार गरेपछि माओवादीले उक्त प्रस्तावलाई पछ्याएर भारतको इसारामा १० वर्षे सशस्त्र युद्ध गरेको उनको आरोप छ । भारत नेपालको एकीकरणको विरोधी रहेको उनले बताए । उनले भारतमा ब्रिटिसले छाडेर गएपनि भारतले पोलिसी नछाडेको उनको आरोप छ । क्रान्तिकारी भनिनेहरुले भारतको सहयोगमा काम गरेको उनको टिप्पणी छ ।
‘भारतीय सत्ता नेपालको एकीकरणको विरोधी थियो । त्यसबेला ब्रिटिस इन्डिया थियो, ब्रिटिस इन्डियासँग लडेर हामीले देशको एकीकरण गर्यौं । ब्रिटिसहरुले छोडेर गए, तर भारतीय नेताहरुले ब्रिटिसहरुको पोलिसीलाई छोडेनन् । त्यो पोलिसी भनेको दक्षिण एशियाका साना मुलुकहरुलाई नियन्त्रणमा लिने पोलिसी रह्यो । त्यस्तो पोलिसी बोक्ने सत्ताधारीहरुको पाहुना भएर, सहयोग लिएर क्रान्तिको नाममा कामहरु गरियो,’– उनले भने ।
अहिले देश आन्तरिक रुपमा खोक्रो बनेको र ठूला समस्यामा फसिरहेको उनले बताए । देशमा बाह्य हस्तक्षेप पनि व्यापक रहेको उनको दाबी छ । आन्तरिक संकट र बाह्य हस्तक्षेपको भूमरीमा नेपाल फसेको उनको टिप्पणी छ । अहिले अधिकांश संसद्वादी पुराना पार्टीहरु लम्पसारवादी बनेको उनको आरोप छ । उनीहरु जनताबाट विमुख बनेको र जनताको समस्य बुझ्न र समाधान गर्न नसकेको उनको दाबी छ । महासचिव मैनालीले देशमा संसद्वादी दलहरुले २०४६ सालपछि राष्ट्रियता, शान्ति क्षेत्रको पस्ताव गुमाएर, महाकाली सन्धि गरेर र एमसीसी अनुमोदन गरेर राष्ट्रियतामा प्रतिगमन गरेका उनको आरोप छ ।