काठमाडौं, २४ माघ । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप यादवले कांग्रेस र माओवादीबीच राष्ट्रिय सभा अध्यक्षलाई लिएर लडाईँ भइराखे आफूहरु तयार रहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले राष्ट्रिय सभा अध्यक्षमा आफूहरुको दाबी नभएपनि दुई ठूला दलबीच विवाद कायमै रहे विकल्प दिन आफूहरु तयार रहेको बताएका हुन् ।
‘नेकपा (माओवादी) बाट पनि दाबी छ । नेपाली कांग्रेसबाट पनि दाबी छ । दुई ठूला दलले तय गर्ने कुरा हो । त्यसैले उहाँहरु बीचमा कुरा मिलेन भने, धेरै लडाईँ भयो भने जसपा पनि तयार रहेको छ ।’ उनले भने, ‘उहाँहरु लड्नुहुन्छ भने झगडा खत्तम गर्नका लागि जसपालाई दिएर समस्याको समाधान गरिदिनुपर्छ । हाम्रो दाबी त छैन । तर, दुवै जनाको दाबी भयो भने सानो दललाई दिएर यो विषय खत्तम गरिदिनुपर्छ ।’
साथै, संघीयता कसैले उपहार दिएको नभएर हजारौंको त्याग र बलिदानीबाट प्राप्त भएको उनले स्मरण गराए । उनले केही शक्तिहरुले संघीयताको विरोध गर्दैमा यसको औचित्य समाप्त नहुने बताए । संघीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशलाई अधिकार दिइनु पर्ने उनको भनाइ छ । अहिले प्रदेशका मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जति पनि अधिकार नदिइएको उनले बताए ।