काठमाडौं, २४ माघ । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले तस्करका नाईकेहरु सत्तारुढ दलकै नेतृत्वमा रहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आज (बुधबार) बसेको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भने,‘सुन तस्करी प्रकरणमा हामीले लगातार कुरा उठाएपछि जाँचबुझ आयोग बन्यो । तीन महिनाको समयावधि पाएर आयोगले काम सुरु गरेको थियो । तीन महिनामा काम पूरा गर्न सकेन । अहिले सरकारले दुई महिनाको समय थपेको छ । हामीपनि उहाँहरुसँग बसेका छौं । नजिकबाट हेरेका छौं । तर, आयोगलाई सरकारले स्वतन्त्र ढंगले काम गर्न दिएको छैन् । आयोगले फेरि पनि सुन तस्करीका सारा पक्षहरुलाई बाहिर ल्याउनसक्ने स्थितिमा छैन् । सरकारबाट समितिलाई अनेकन राजनीतिक दबाबमा राख्ने काम भएको छ । यस ढंगले जाने हो देशमा तस्करीलाई अन्त्य गर्न सकिन्छ ? तस्करका नाइकेहरु सत्तारुढ दलकै नेतृत्वमा छन् । उहाँहरुकै भात भान्सामा गएर बसेको देखिन्छ । स्वयम सरकार नै आँफै तस्करीमा संलग्न हुन्छ । सरकार नै तस्करीको संरक्षणमा लागिरहेको छ । अनि यो देशमा कसले सुशासन दिने हो ? यस्ता प्रश्नहरुको जवाफ सरकारसँग छ ?’
सरकारले देश र जनतालाई केन्द्रमा राखेर सुशासन कायम गर्नुपर्ने उनको सुझाव छ ।