काठमाडौं,२४ माघ । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले आफूलाई यो अपमानजनक पदबाट कहिले मुक्त पाइएला भन्ने चिन्ता लागेको बताएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले यस्तो बताएका हुन् ।
‘लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने काम यो संविधानको हो। नेपाली जनताको हो। यो संविधान जारी गर्नेहरुको हो। बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट कस्तो किसिमको समाज निर्माण गर्नुपर्छ भन्ने परिकल्पना त्यो संविधान निर्माण गर्नेले त्यसैबेलादेखि देखेका छन्,’ उनले भने, ‘यो अपमानजनक पदमा कहिलेदेखि मुक्त हुन पाइएला भनेर भन्ने मलाई लाग्छ।’
गौतमले बहुदलीय प्रतिस्पर्धाको प्रणालीबाट कस्तो किसिमको समाज निर्माण गर्ने भन्ने विषय संविधानमा व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार र राजनीतिक दलले ध्यान दिन नसकेको टिप्पणी गरे । उनले बहुदलीय प्रतिस्पर्धाको माध्यमबाट मुलुकमा समाजवाद स्थापना गर्न सकिन्छ भनेर आजसम्मका प्रधानमन्त्रीले ढाँचासमेत प्रस्तुत गर्न नसकेको जिकिर गरे ।