काठमाडौं, २४ माघ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले अहिले देशको आर्थिक अवस्था भयावह बनेको र देश नै असफलताको डिलमा उभिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘अहिले देशको आर्थिक अवस्था जर्जर बन्दै गएको छ । देशको आर्थिक अवस्था भयावह छ । देश असफलताको डिलमा उभिएको स्थिति छ । अहिले जसले जहाँ पायो त्यहीँ लुट्न व्यस्त देखिन्छ । जसको जति पहुँच छ, त्यत्तिनै मात्रामा भ्रष्टाचार र लुट भैराखेको छ ।’
उनले ६ महिनामा ७ खर्ब रेमिट्यान्स आएको विषयमा सकारात्मक सूचांक भन्दै प्रचार गरेको विषयमा प्रश्न उठाए । उनले विदेश गएका नेपालीहरुको संख्या र कति रकम आउनुपर्ने हो ? भनेर डाटा हेर्न पनि सुझाव दिए ।