Logo

ल्होछार तामाङ समुदायको मात्रै नभएर समग्र नेपालीको पर्व होः मुख्यमन्त्री जम्कट्टेल



धुलिखेल, २६ माघ । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ल्होछार पर्व तामाङ समुदायको मात्रै नभएर समग्र नेपालीको नै पर्व भएको बताएका छन् ।

खार्पाचोक ‘बुद्धपार्क उद्घाटन तथा ल्होछार सांस्कृतिक कार्यक्रम’ मूल समारोह समितिले आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकमा आयोजना गरिएको मञ्जुश्री संबत २८६०औँ (डुक मु पुख्रि ल्हो) सोनाम ल्होछार २०८० कार्यक्रमलाई सम्बोधन गर्दै उनले १० वर्षे महान् जनयुद्ध, १९ दिने जनआन्दोलन र विभिन्न जाति, वर्ग र क्षेत्रले गरेको आन्दोलनबाट समानुपातिक र समावेशी व्यवस्था स्थापना गरेकोले राज्यको नजरमा सबैखाले भाषा, धर्म, संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।

संविधानको पूर्ण कार्यान्वयनको निम्ति हिजोको जस्तो एकात्मक र एउटै जाती समुदायलाई संरक्षण गर्ने मुलुक नभएर सबैको साझा भएको बताए । राज्यको नजरमा सबै समान भएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले लडेर ल्याएको व्यवस्था र संविधानले दिएको अधिकारको प्रयोग गर्दै बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाइ सकेको उनको भनाई छ । आफु आन्तरिक मामिला तथा कानुन मन्त्री भएको बेलामा जनसङ्ख्याको हिसाबमा बोलिने भाषामध्ये बहुसङ्ख्यक तामाङ र नेवार समुदायले बोल्ने भाषा परेको कारण भाषा आयोगले विसं २०७७ मा बागमती प्रदेशभित्र तामाङ र नेपाल भाषालाई कामकाजको भाषा बनाउन भनेर सिफारिस गरेको भए पनि त्यस वेला कार्यान्वयनमा ल्याउन नसेकको बताए ।

पछि सरकार फेरबदल भएसंगै आर्थिक मामिलामन्त्री भएको बेलामा संविधानको पूर्ण कार्यान्वयन गर्नका निम्ति तेस्रो पटकमा मात्रै सफल भएको बताए । “पहिलो र दोस्रो पटक गरिएको प्रयासमा पनि सफल नभएको काम अहिले म मुख्यमन्त्री भएपछि विधेयक पास गरेका छौँ, अब त्यो कार्यान्वयको तयारीमा छ ।” उनले भने, “म मुख्यमन्त्री भएपछि पहिलो क्याविनेट बैठकबाट तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउने भनेर गरेको निर्णयसँगै गठन गरेको समितिले यसलाई पूर्णता दिन सफल भएको छ ।” ठूलो त्याग, तपस्या र बलिदानीबाट प्राप्त उपलब्धी भएकाले अब ल्होछारलाई सबैले मनाउन र ल्होछार मनाउनुमा गर्व गर्नुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्