Logo

मुलुक बचाउने उपाय संसदीय व्यवस्थाको अन्त्य र मृत्युदण्डको व्यवस्था नै होः डा. दीक्षित



काठमाडौं, २७ माघ । नागरिक अभियन्ता डा.सुन्दरमणि दीक्षितले कानूनमा मृत्युदण्डको व्यवस्था अनिवार्य हुँदै गएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न मृत्युदण्डको व्यवस्था गर्नुपर्ने र त्यसले गर्दा भ्रष्टाचार गर्न व्यक्ति डराउने बताए ।

सरकारले देश र जनताको पक्षमा भन्दा पनि आफ्नो लागिमात्रै काम गरिरहेको उनको दाबी छ । डा. दीक्षितले भुटानी शरणार्थी प्रकरणमा पनि निश्पक्ष छानविन नभएको भन्दै आक्रोश पोखे । अहिलेको सरकारले एउटा फाइल खोल्ने र त्यसलाई केही समयपछि अर्को फाइल खोलेर ओभरल्यापिङ गरिरहेको बताए । सरकारले सुरू गरेको भ्रष्टाचारविरोधी काम अहिलेसम्म कुनैपनि निश्कर्षमा नपुगेको उनको दाबी छ ।

संसदीय व्यवस्थामा पैसा, गुण्डागर्दीको भरमा चुनाव जित्ने प्रवृत्ति रहेको उनको भनाइ छ । संसदीय व्यवस्थानै गलत भएको उनको दाबी छ । नेपालको परिवेशमा संसदीय व्यवस्था नसुहाउने उनको दाबी छ । लोकतन्त्रमा अहिले ‘म’ तन्त्रको हाबी भइरहेको उनको दाबी छ । भ्रष्टाचार अन्त्य गर्नका लागि संसदीय व्यवस्थाको अन्त्य र मृत्युदण्डको व्यवस्था गरिएको कानुन ल्याउनुपर्ने उनले बताए ।

गगन थापाजस्तो नेताले समेत भ्रष्टाचारविरुद्धको अभियानमा केही गर्न नसकेको उनको दाबी छ । उनले गगनले संसद्मा र पार्टीका विभिन्न फोरमहरुमा भ्रष्टाचारविरुद्धमा बोलिरहेको भएपनि उनीभन्दा माथिल्ला नेताहरु भ्रष्ट भएका कारण उनको भ्रष्टाचारविरोधी आवाज सम्बोधन नभएको उनले बताए ।

कम्युनिष्ट पार्टीहरुले डेमोक्रेशी स्वीकार नगरेको उनको भनाई छ । देशमा डेमोक्रेशी स्वीकार गरेको नेपाली कांग्रेस अहिले भाइ माओवादी बन्दा डेमोक्रेशीमा खतरा बढेको उनले बताए ।

‘यो डेमोक्रेशीमा बञ्चरो हान्ने पार्टी भनेको आजको दिनमा कांग्रेसनै हो । कांग्रेसले नै डेमोक्रेशी बचाउन पर्दथ्यो । आज त्यो कांग्रेस भाइ माओवादी भएर गयो, देउवाले डोहोर्याएर लगिरहेका छन् । कांग्रेस डेमोक्रेशीको खम्बा हुनुपथ्र्यो तर भाइ माओवादी भइरहेको छ,’– उनले भने ।

जनताले दिएको मतका आधारमा कांग्रेसले शासन गर्न पाउनुपर्नेमा अहिले माओवादीले नेतृत्व लिइरहेको भन्दै उनले त्यसलाई पनि भ्रष्टाचारको रुपमा लिनुपर्ने बताए । जनताको मतको कदर नहुनुपनि भ्रष्टाचारको रूपमा लिनुपर्ने डा. दीक्षितको भनाइ छ ।
आफूहरुले भ्रष्टाचारको विरोध गर्दा प्रतिगामीको आरोप सहनु परेको उनले बताए । अहिलेका दलहरुकै कारण अहिले राजातिर लहर सुरू भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्