काठमाडौं, माघ २९ । सर्वोच्च अदालतको आदेश विपरीत देशका विभिन्न स्थानीय तहले फागुन १ गते ‘जनयुद्ध दिवस’ भन्दै धमाधम सार्वजनिक बिदा दिन थालेका छन्। सल्यानको दार्मा गाउँपालिकाले जनयुद्ध दिवस भन्दै फागुन १ गते सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाकी कार्यवाहक अध्यक्ष जुना मल्ल चन्दद्वारा आइतबार सार्वजनिक सूचनामा माघ १७ गतेको गाउँ कार्यपालिकाको निर्णय अनुसार फागुन १ गते सार्वजनिक बिदा दिएको उल्लेख छ ।
संघीय सरकारले दिएको सार्वजनिक बिदाको निर्णय केही दिनअघि सर्वोच्च अदालतले बदर गरिदिएको थियो । तर माओवादी केन्द्रले जितेका केही पालिकामा भने बिदा घोषणा गरिएको छ।
त्यस्तै, सार्वजनिक बिदा दिनेमा लुम्बिनी प्रदेशको रोल्पा नगरपालिका, माडी गाउँपालिका र बागमती प्रदेशको चौंरीदेउराली गाउँपालिका पनि छन्। रोल्पा नगरपालिका र चौंरीदेउरालीले माघ २५ गते र माडी गाउँपालिकाले माघ २४ सूचना निकालेर फागुन १ गते बिदा दिने निर्णय सार्वजनिक गरेका हुन। सर्वोच्च अदालतले फागुन १ गते जनयुद्ध दिवस मनाउने सरकारको निर्णय गत पुस १३ गते नै बदर गरिदिएको थियो।