Logo

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि, प्रचण्डले धारणा राख्दै



काठमाडौं, माघ २९ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । आइतबारबाट काठमाडौंमा सुरु भएको बैठकमा पहिलो दिन प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए । आज पनि समसामयिक राजनीति र पार्टीको अभियानको समीक्षा हुने पार्टी सचिवालयले जनाएको छ ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज आफ्नो धारणा राख्दैछन् । विधान सम्मेलनको तयारीमा रहेको माओवादीले त्यसैको तयारी र जनतासँग माओवादी विशेष अभियान’ को विशेष समीक्षा गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो ।

यसअघि हिजोको बैठकमा प्रदेशका ‘इञ्चार्ज’ र अध्यक्षहरुले आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा जानकारी गराएका थिए । रिपोर्टिङका क्रममा उनीहरुले रुपान्तरण अभियानले पार्टी र जनताबीचको सम्बन्ध विस्तार भएको र पार्टीमा पुनः जीवन प्राप्त भएको बताएका थिए। पार्टी कमजोर अवस्थामा रहेका प्रदेश र जिल्लामा निरन्तररुपमा अभियान चलाउनुपर्ने उनीहरुको भनाइ थियो ।

माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।

माओवादी केन्द्रले भोलिदेखि राजधानीमा विधान सम्मेलन गर्दैछ । विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले प्रस्ताव गरेको विधानमा माओवादीको स्थायी समिति बैठकमा छलफल भैसकेको छ ।



प्रतिक्रिया दिनुहोस्