काठमाडौं, २९ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ठेकेदारभन्दा ठेक्का दिने मानिसहरु दोषी भएको टिप्पणी गरेका छन् । आज (सोमबार) अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले स्रोत नभई ठेक्का दिँदा योजनाको अवधि पूरा हुँदासमेत काम नभएको र ठेकेदारहरुले काम गरेको भुक्तानीसमेत पाउन नसकेको बताएका हुन् । उनले गलत मानिसहरुले ठेक्का दिँदा राज्यमाथि दायित्व बढेको समेत बताए ।
‘ठेकेदारले काम गरे, त्यो उनीहरूको दोष होइन। स्रोत नभई जसले ठेक्का दिए उनीहरूको दोष हो,’– अर्थमन्त्री महतले भने ।
कतिपय राज्यकै नीतिका कारण काम गर्न समस्या पैदा भएको उनको भनाइ छ । उनले समस्या हुने ठाउँहरूमा सुधारका काम भइरहेको र धेरै सुधारका कार्यक्रम कार्यान्वयनमा आफूहरु लागि परेको बताए ।