काठमाडौं, २ फागुन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जनयुद्धका मुद्दा सही हुँदाहुँदैपनि यसका नेताहरुको गद्दारीको कारण आज जनयुद्धका मुद्दा र त्यसप्रति सरोकार राख्ने जनता अलपत्र परेको टिप्पणी गरेका छन् ।
हिजो (मंगलबार) जनयुद्ध दिवसको अवसरमा पार्टीले पर्सामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जसको लागि जनयुद्ध गरिएको हो उनीहरुलाई नै जनयुद्धका नेताहरुले बिर्सिएर आफ्नो स्वार्थमा लागेको साहको आरोप छ । किसान र मजदुर दुवै वर्ग अझैपनि पीडामा रहेको भएपनि जनयुद्धका नेताहरु भने सत्ता–स्वार्थमा लिप्त रहेको उनको आरोप छ ।
उनले भने,‘त्यही सत्ता स्वार्थको कारण देश बर्बाद छ । अनि मुठ्ठीभरका मानिसहरु मालामाल छन् । आम जनता बर्बाद भैरहेका छन् । नेताहरुलाई हामी सोध्न चाहन्छौं–हिजो तपाईंहरु किसान र मजदुरको रगतबाट नेतृत्वमा पुग्नुभयो, अहिले कसको नेतृत्व गर्दै हुनुहन्छ ? बास्तवमा तपाईँहरुले खोला तर्नुभयो अनि लौरो बिर्सिनुभयो । जसको बलामा तपाईंहरु नेता बन्नुभयो, सिंहासनमा पुग्नुभयो । माओवादी भनेको इस्युको आन्दोलन थियो, आम जनताको मुद्दा थियो । अहिलेको प्रचण्ड नेतृत्वको सरकार कसको हो ? यो सरकारले किसान र मजदुरको काम गरेको छ त ? यो सरकार भ्रष्टाचारीहरुको संरक्षक हो ।’
वर्तमान सरकारले भगौडाहरुको हितको लागि काम गरेको र किसानलाई मार्ने काम गरिरहेको साहको गम्भीर आरोप छ । जनताको पसिना लुटेर खानको लागि जनयुद्ध नभएको उनले स्मरण गराए । उनले अहिले तल्लो वर्ग र उत्पीडनमा परेकाहरुको हालत जस्ताको त्यस्तै रहेको आरोप लगाए । उनले प्रधानमन्त्री प्रचण्डलाई छद्यमभेषीको संज्ञा दिए । उनले आफूहरुले अब सही कुरा बुझाउनुपर्ने बेला आएको सुनाए ।