काठमाडौं, ३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सभा सदस्य, सभामुखमात्रै नभएर परिआएको खण्डमा प्रतिनिधि सभाबाट समेत राजीनामा दिएर सडक संघर्षमा जाने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले सुरु गर्न लागेको आन्दोलनको छिनोफानोका लागि परिआए सबै पदहरु त्याग्ने बताएका हुन् ।
‘संविधान संशोधन गर्न जनदवाब सिर्जना गर्न हामीले आन्दोलनको बाटो लिएका छौं । हामीले आन्दोलन उठाउँदै गर्दा आन्दोलन छिनोफानो गर्न त्यो विषयले मद्धत गर्नेभयो र त्यही विषय बाधक भयो भने हामीले भनिसकेका छौं प्रदेश सभा सदस्य, सभामुखमात्रै होईन प्रतिनिधि सभामा समेत हामीले राजीनामा दिएर सडकमा जान्छौं,’– उनले भने ।
नेता लिङ्देनले जनताले समर्थन गरेपछि, अहिलेका राजनीतिक दलहरुले आफूले लिएको बाटो गलत हो भन्ने महशुस गरेपछि वा राप्रपाले बहुमत पाएपछि संविधान सशोधन गरेर हिन्दु राष्ट्र र राजसंस्था ब्युँतिने उनको दाबी छ ।
‘जनताले हामीलाई समर्थन गरेपछि, अथवा संसद्मा संविधान संशोधन गर्ने बहुमत प्राप्त गरेपछि, अहिलेका राजनीतिक दलहरुलाई हामीले लिएको बाटो गलत छ भन्ने कुरा महसुश गर्न बाध्य बनाएपछि यी तिनवटै बाटोबाट हामीले संशोधन गर्नसक्छौं,’– उनले भने ।
राप्रपाले आगामी फागुन ७ गतेदेखि आन्दोलनको घोषणा गरेको छ । File Photo/RN