Logo

मधेश उजाड बनाउनेहरुलाई अब नछोड्ने प्रभु साहको चेतावनी



रौतहट, ४ फागुन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले फिरंगी नेताहरु नेतृत्वमा पुगेको कारण रौतहट विकास र समृद्धिमा पछि परेको आरोप लगाएका छन् ।

भन्सार कानूनमा रहेको लुटकारी ४५ प्रतिशत पुरस्कार हटाउन आजपाले गौरमा आयोजना गरेको बृहत्त गौर नगर भेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै साहले यस्तो आरोप लगाएका हुन् । उनले रौतहटले नेपालको परिवर्तनको आन्दोलनमा सधैं अग्रभागमा रहेर आफ्नो भूमिका निर्वाह गरेको इतिहास पनि सुनाए ।

राणा शासनदेखि राजतन्त्र फाल्नको लागि भएका आन्दोलनमा रौतहटले निर्णायक र अग्रणी भूमिका निर्वाह गरेको साहको भनाई छ । उनले परिवर्तनको लागि क्रान्तिकारी छवि बोकेको रौतहटको गर्विलो इतिहास केही स्वार्थी र व्यक्तिगत स्वार्थमा लिप्त भएका नेताहरुको कारण धुमिल हुन थालेको भन्दै चिन्ता व्यक्त गरे ।

साहले सरकारको नेतृत्वमा पुग्दापनि जिल्लाको विकास हुन नसक्नु दुःखद् भएको भन्दै माधव नेपाललाई लक्षित गरेर फिरंगी नेताको संज्ञा दिएका हुन् । उनले इतिहासको लामो कालखण्डसम्म उर्वर रहेको मधेश भूमि आज उजाड भएको भन्दै यसको मुख्य दोषी मधेशी जनताको नाममा लुट मच्चाउने उपेन्द्र यादवहरु भएको आरोप लगाए ।

मधेश सरकारको नेतृत्व उपेन्द्र यादवको पार्टीले यसअघि ५ वर्ष र अहिलेपनि गरिरहेको अवस्था चित्रण गर्दै साहले यस्तो आरोप लगाएका हुन् । माधव नेपाल र उपेन्द्र यादवहरु सत्ताकेन्द्रित फोहोरी राजनीतिमा मात्रै लिप्त रहेको र मधेशी जनताको लागि सिन्को पनि नभाँचेको साहको गम्भीर आरोप छ ।

मधेश आज मानव विकास सूचांकको हिसाबले पनि निकै पछि परेको तथ्यांक पेश गर्दै साहले मधेशलाई कंगाल बनाउने र मधेशी जनतालाई चरम गरिबीको रेखामा राख्न बाध्य बनाउने उपेन्द्र यादवजस्ता नेताहरुलाई अब जनताको बलमा मधेशबाट लखेट्नुपर्ने पनि आवाज उठाए ।

साहले गौर हत्याकाण्डका पीडितले अझैसम्म न्याय नपाएको उल्लेख गर्दै आफूले पीडितलाई कुनैपनि हालतमा न्याय दिलाएर छोड्ने उद्घोषपनि गरे । सरकारले पीडितहरुसँग न्याय दिलाउनेबारे सहमति गर्दा गौर हत्याकाण्डका मतियारहरु डराएर सरकारबाट बाहिरिने धम्की दिएको स्मरण गराउँदै अब जनताको अदालतबाट कोहीपनि हत्याराले उन्मुक्ति नपाउने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्