काठमाडौं, ५ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आफूहरुलाई जनताले नपत्याएको भन्दा पनि माओवादीले नै जनतालाई छोडेको टिप्पणी गरेका छन् । माओवादीले जनतालाई छोडेको कारण अहिले पार्टी यो अवस्थामा आइपुगेको बताएका हुन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु जनतामाझ जाँदा १७ वर्षसम्म कहाँ गयोैं भनेर प्रश्न गरेको बताए ।
शान्ति प्रक्रियापछि माओवादीका नेताहरु काठमाडौं र सदरमुकाम केन्द्रीत हुँदा जनतामाझ विश्वास गुमेको उनको निश्कर्ष छ । अब आफू माओवादीलाई कसरी बलियो बनाउन सकिन्छ भनेर प्रयास गरिरहेको उनले बताए ।
‘जनताले विश्वास नगरेको होईन । माओवादीले जनतालाई विश्वास नगरेर विग्रिएको हो । माओवादीले जनतालाई विश्वास गरेन, जनता कहाँ गएन । शान्ति प्रक्रियामा आएपछि काठमाडौंतिर, सदरमु्कामतिर गरेको कारणले बिग्रिएको हो । अहिले गयौं नि त हामी जनता कहाँ । ‘जनताले तिमीहरु यतिका १७ वर्षसम्म कहाँ थियौं ? के गर्यौ ?’ भने हामीलाई जनताले । तिमी हामीकहाँ आएर सहकार्य गरेको खोई ? भनेका छन्,’– उनले भने । File Photo/RN