Logo

हिन्दु धर्मको एजेण्डा कांग्रेसभित्र कल्पवृक्षको रुपमा हुर्किरहेको छः शंकर भण्डारी



काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री शंकर भण्डारीले पार्टीभित्र हिन्दु धर्मको एजेण्डा कल्पवृक्षको रुपमा हुर्किरहेको दाबी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । नेपालजस्तो स्वाधिन, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न मुलुकमा विभिन्न प्रकारले स्वार्थ केन्द्रीत गतिविधि भइरहेको पहिलो प्रहार धर्म संस्कृतिमाथि परिरहेको बताएका हुन् ।

संसारका अन्य मुलुकले आफ्नो देशको धर्म संस्कृतिको रक्षा गरेझैं नेपालले पनि हिन्दु धर्म र संस्कृतिको रक्षा गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रवादी चिन्तन बोकेको पार्टी भएको नाताले कांग्रेसले हिन्दु धर्मको एजेण्डा बोक्नुपर्ने उनको स्पष्टोक्ति छ ।

‘यो कल्पवृक्षको रुपमा नेपाली कांग्रेसभित्र हुर्किरहेको छ वैदिक सनातन धर्म । कुनै पनि मुलुकका नागरिकको पहिलो दायित्व आफ्नो मुलुकको स्वाभिमान, आफ्नो मुलुकको स्वाधिनता र रक्षामा भूमिका निर्वाह गर्नु हुन्छ नै । हाम्रोजस्तो स्वाधिन, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न मुलुकमा विभिन्न प्रकारले स्वार्थ केन्द्रीत गतिविधिहरु बढ्दै आए । त्यसको पहिलो प्रहार हाम्रो देशको वैद्धिक सनातन धर्म संस्कृतिमाथि गम्भीर रुपमा पर्न थाल्यो । त्यसका गतिविधिहरु देखिन थाल्यो । संसारका अन्य मुलुकले झैं हाम्रो देशले पनि वैद्धिक सनातन धर्मको रक्षा गर्नुपर्छ । कांग्रेसजस्तो राष्ट्रवादी चिन्तन बोकेको पार्टीले यो कुराको जिम्मेवारी लिनुपर्छ,’– उनले भने ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महासमिति बैठकमा पेश हुने प्रस्तावमा हिन्दु धर्मको पक्षमा उभिन भन्दै नेता भण्डारीसहित अन्य २२ जनाले पुरक प्रस्ताव दर्ता गराएका थिए । कांग्रेसभित्र पछिल्लो समय हिन्दुराष्ट्रको पक्षमा व्यापक छलफल भइरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाले एक सार्वजनिक कार्यक्रममा हिन्दु राष्ट्रको पक्षमा नयाँ ढंगले सोच्न सकिने भनेर दिएको अभिव्यक्तिले समेत यसलाई थप मलजल गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्