काठमाडौं,६ फागुन । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि डाकिएको मधेश प्रदेश सभाको बैठक अवरुद्ध भएको छ ।
प्रदेश सभाको बैठक सुरु हुनासाथ जनमत पार्टीका सांसदहरुले उठेर अवरुद्ध गरेका हुन् । जनमतले अवरोध गरेपछि सभामुख रामचन्द्र मण्डलले आज मुख्यमन्त्री विश्वासको मत लिने भन्दै बस्नका लागि जनमतका सांसदहरूलाई आग्रह गरे । तर, अवरोध कायमै रहेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । जनमतले सप्तरीमा आफ्ना मन्त्री कुटिएको भन्दै मुख्यमन्त्रीले माफी माग्नुपर्ने अडान राखेको छ ।
जनमतका सांसद चन्दन सिंहले भने, ‘सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय भवनको शिलान्यास समारोहमा क्याविनेट मन्त्री विश्वविद्यालयका उपकुलपति समेत रहेका महेशप्रसाद यादवमाथि सांघातिक हमला भयो । यस विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्छ । मुख्यमन्त्रीले क्षमा माग्नुपर्छ ।’
जनमतको अवरोधपछि बैठक स्थगित गरेर छलफल सुरू गरिएको छ ।