Logo

राष्ट्रिय मुक्ति क्रान्तिमार्फत वहुलराष्ट्रिय राज्य स्थापना गर्न जस्तोसुकै मुल्य चुकाउन तयार छौं: राजेन्द्र महतो



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का बरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रिय मुक्तिक्रान्ति मार्फत वहुलराष्ट्रिय राज्य स्थापना गर्न जस्तोसुकै मुल्य चुकाउन पनि आफू तयार रहेको बताएका छन् ।

आइतबार राष्ट्रिय मुक्ति क्रान्ति मार्फत वहुलराष्ट्रिय राज्य स्थापना गर्ने उदेश्यले एकीकृत शक्ति निर्माण गर्ने प्रयोजनको लागि बिर्तामोडमा आयोजना भएको छलफल कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोले सो कुरा बताएका हुन् ।

महतोले यस उदेश्यको निम्ति जस्तोसुकै मुल्य चुकाउन आफु तयार रहेको बताएका छन् ‘एकल राष्ट्रिय राज्यको संरचना बदलेर वहुलराष्ट्रिय राज्य बनाउनु भनेको, नेपाल सबै नेपालीको बनाउनु हो। पृथ्वीनारायण शाहले राज्य विस्तार गरेदेखि अहिलेसम्म माटो मिल्यो तर मन मिलेको छैन’ महतोले भने ।

यस्तै महतोसँग संघीय लिम्बुवान पार्टीका नेता सन्जुहाङ पालुङ्वा, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाबीच एकैसाथ सहकार्य गर्नेबारेमा पनि सहमति जुटेको छ ।

कार्यक्रममा अर्का वक्ता संजुहाङ पालुङ्वाले यस उदेश्यको निम्ति आफू पार्टी त्यागेर पनि संगै हिड्न तयार रहेको बताए। ‘अन्य साथीहरू जो विभिन्न पार्टीमा लाग्नु भएको छ तपाईहरु पनि लिम्बुवान राष्ट्रिय राज्यको निम्ति आ-आफ्नो पार्टी त्याग गरेर आउनुस ’ उनले भने ‘हामी सपना पुरा गर्छौं’ । त्यसैगरी जनमुक्तिका अध्यक्ष केपी पालुङ्वाले यस उदेश्यको निम्ति छलफललाई निरन्तरता दिउँ र यो क्रान्ति सफल पार्न आफु तयार रहेको बताएका छन् ।

कार्यक्रममा लोसपाका महासचिव केशव झाले एक्लाएक्लै संघर्ष गरेर मधेशी वा आदिवासी जनजाति कही पुग्न नसक्ने भएकोले यस उदेश्यको निम्ति एक भएर अगाडि बढनुको विकल्प नरहेको बताए। त्यसैगरी आदिवासी जनजाति आन्दोलन संघर्षका ज्ञाता, बुद्धिजीवी तथा क्रान्तिकारी नेता बुद्ध छिरिङ मोक्तानले विश्वभरी भएको विभिन्न खाले आन्दोलन , संघर्ष र विद्रोहको इतिहास बताउदै नेपालमा वहुलराष्ट्रिय राज्यको स्थापनाको निम्ति राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य रहेको बताए। मोक्तानले यस उदेश्यको निम्ति चाहिने सवैखाले तैयारी आफुहरुले पुरा गरिसकेको बताए । कार्यक्रमको संचालन लिम्बुवानका क्रान्तिकारी नेता लासिमले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्