काठमाडौं, फागुन ७ । वि.सं. २०१५ मा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली कांग्रेसको उम्मेदवार बनेका भरत उप्रेती वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा नै भ्रष्टाचार मौलाएको बताउँछन् । भ्रष्टाचारमुक्त नभएसम्म देश समृद्ध नहुने उल्लेख गर्दै उनले देश र जनताका लागि राजनीतिक नेतृत्वले त्याग गर्न सक्नुपर्ने सुझाव दिए । ‘आफैँ खाऔँ आफैँ मोटाऊ भन्नेतिर लाग्नुहुँदैन । एकजुट भएर सबै देश बनाउन लाग्नुस्’, उनले भने ।
प्रजातन्त्र दिवसका अवसरमा गरिएको कुराकानीमा उप्रेतीले सबै नागरिकले सुख शान्तिसँग जिउन पाए मात्र प्रजातन्त्र दिगो हुने बताए । वि.सं. १९८८ मा धादिङ नौबिसेमा जन्मिएका उप्रेती ११ वर्षको हुँदा अध्ययनका लागि काठमाडौं आएका थिए । एसएलसी परीक्षा दिने तयारीमा रहेका बेला २००६ सालमा गुरु नरहरि दवाडीले आफ्नो निवास जैसीदेवलमा ट्युसन पढाउने क्रममा पहिलोपटक प्रजातन्त्रका बारेमा जानकारी गराएका उनले बताए ।
‘कांग्रेसका संस्थापक नेताहरू बीपी र गणेशमानजी कसरी र किन निर्वासनमा जानुभयो, भनेर जानकारी गराउनुका साथै प्रजातन्त्रको सङ्घर्षका बारेमा सुनाउनु भएपछि तत्कालीन शासकबाट मुलुकमा अन्याय भएको रहेछ भन्ने दिमागमा पर्यो,’ उप्रेती भन्छन्, ‘त्यसपछि हाम्रो भेट दयाविर सिंहसँग भयो । उहाँले हामीलाई प्रजातन्त्रका बारेमा धेरै सिकाउने र प्रजातन्त्रको आन्दोलनका काममा लगाउनुभयो ।’
२००७ देखि केही साथीसहित आफूहरू प्रजातन्त्रको आन्दोलनका क्रममा पम्पलेट र अन्य साम्रगी आदानप्रदान गर्ने क्रममा भूमिगत भएको जानकारी गराउँदै उनले राजा त्रिभुवन भारत निर्वासनमा जाँदा आफूहरू खुला राजनीतिमा आएको र प्रजातन्त्रका पक्षमा नारा लगाएको स्मरण गरे ।
मुलुकमा प्रजातन्त्र स्थापनासँगै आफू कांग्रेसबाट राजनीति प्रवेश गरेको उनको भनाइ छ । जैसीदेवलमा रहेको कांग्रेसको केन्द्रीय कार्यालयमा नेता कृष्णप्रसाद भट्टराईले पार्टी सदस्यता दिएर पार्टी सङ्गठन बनाउन लागेको उनको भनाइ छ । ‘त्यसपछि बीपी र गणेशमानजीसँग भेट हुन थाल्यो, बीपीले मलाई धाप मार्दा गर्वानुभूति भयो, भेटघाटका लागि गणेशमान सिंहको घरमा नियमित गइन्थ्यो’, उनले भने । त्यसपछि उनी २०१७ सालदेखि विभिन्न समयमा गरी २०५३ सालसम्म धादिङ कांग्रेसको नेतृत्वमा रहे ।
राजनीतिकै क्रममा २०१५ मा सम्पन्न निर्वाचनमा नेता उप्रेतीले धादिङ तत्कालीन १०४ क्षेत्र नं मा कांग्रेसबाट टिकट पाए । तर, सो क्षेत्रबाट गोर्खा परिषद्का भारतशमशेर राणा निर्वाचित भए । उप्रेतीले पाँच हजार मत पाए भने राणाले छ हजार मत पाएका थिए ।
पहिलो आमनिर्वाचनपछि बनेको बीपी नेतृत्वको सरकारले क्रान्तिकारी र ऐतिहासिक काम गर्दागर्दै राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेको उनले बताए । पुस १ को ‘कु’ भएको दिन आफू धादिङको बेनीघाटमा शोसक सामन्तीलाई अन्त्य गर्ने ठूलो आमसभामा रहेको उनको भनाइ छ ।
त्यसपछिको राजनीतिक यात्राका बारेमा स्मरण गर्दै राजा महेन्द्रले राजनीतिक कु गरेको थाहा पाएपछि विभिन्न स्थानमा लुक्दै भाग्दै सङ्घर्ष गर्दै १० वर्ष भारत निर्वासनमा बसेको उनले बताए । २०२६ सालमा राजनीतिक केही खुकुलो भएपछि नेपाल फर्किएका उप्रेतीले त्यसपछि राजनीतिमा अझ बढी सक्रिए भएको उल्लेख गरे । ‘बीपी उपचारका लागि जेटबाट छुटेपछि उहाँ र गणेशमानसँग नियमित भेट हुन्थ्यो । बीपी मेरो निवासमा आउने, खाना खाने गर्नुहुन्थ्यो’, उनी भन्५न् ।
Grammar SchoolNabil Bank
सोही अवसरमा उनले नेता किसुनजीले वर्तमान पार्टी सभापति शेरबहादुर देउवामा कांग्रेस र मुलुकलाई हाक्ने क्षमताको नेतृत्वपन देखेर तत्कालीन बेलायती राजदूतलाई भनेर अध्ययनका लागि बेलायत पठाएको जानकारी दिए । काठमाडौंमा भएको एक वम काण्डका बेला देउवासँगै आफू जेलमा रहँदा उहाँले क्रुर यातना सहेर पनि देखाएको हिम्मतबाट आफू निकै प्रभावित भएको र प्रशंसक रहेको उनको भनाइ छ ।
उनले पार्टीमा गुटउपगुट नगरी एकताका साथ मिलेर अघि बढ्न आग्रह गर्दै पार्टीलाई कमजोर हुने कुनै पनि काम नगर्न सबै नेता कार्यकर्तालाई आग्रह गरे ।
हाल काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका उप्रेती प्रजातन्त्र पुनःस्थापनापश्चात २०४८ सालमा पनि धादिङबाट कांग्रेसको उम्मेदवार भएका थिए । तर, उनी निर्वाचित हुन भने सकेनन् । प्रजातन्त्रको आन्दोलनमा लागेका कारण नेता उप्रेतीलाई तत्कालीन शासकले दुई पटक सर्वस्वहरणसहित जन्मकैदको फैसला सुनाएको थियो । रासस