Logo

पुँजीपतिहरुले सहकारीमा हात हालेपछि समस्या आयोः केपी ओली



काठमाडौं, ७ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीपतिहरुले सहकारीमा हात हालेपछि समस्या आएको बताएका छन् । आज (सोमबार) राजधानीमा आयोजित सहकारीसँग सम्बन्धित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीलाई पुँजीपतिहरुले धन्दाको रुपमा चलाएको बताएका हुन् ।

गरिब जनताको आर्थिक पक्षलाई उकास्ने विचार र संगठनहरु सहकारीको पक्षमा हुनुपर्नेमा पुँजीपतिहरुको हाबी भएको उनको दाबी छ । सहकारी खोलेर पहिला आफूलाई गाडी किन्ने, घर बनाउन थाल्ने लगायतका काम गर्दा सहकारी सुरु हुँदै टाट पल्टिन सुरु भइसकेको हुने उनले बताए । लगानी, सञ्चालन खर्चलगायतका विषयमा सहकारी सञ्चालकहरुले पूर्वतयारी गर्नुपर्ने बताए ।

साथै, सहकारीलाई सहकारी नबनाएर नाफा कमाउने शोषणकारी बनाइएको उनको टिप्पणी छ । उनले अहिले सहकारी क्षेत्रलाई बदनाम बनाइएको बताए ।

‘सहकारीलाई सहकारी नबनाएर नाफा कमाउने शोषणकारी बनाए । केही मान्छेले पैसा कमाए होला, सहकारी क्षेत्र बदनाम भएको छ,’– उनले भने ।

सहकारी व्यक्तिमुखी नभएर सहकार्यमुखी र उत्थानमुखी हुनुपर्ने उनको भनाइ छ । स–सानो पुँजीको संकलन र त्यसको परिचालन अत्यन्त अनुशासित र नियमसँगत हुनुपर्ने उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्