काठमाडौं, ८ फागुन । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेलले ‘एनआईसी बैंक डुब्दैछ, सञ्चालकहरु भाग्दैछन्’ भन्नु भ्रमपूर्ण प्रचारबाजीमात्रै रहेको बताएका छन् । निक्षेपकर्ताहरुलाई आफ्नो निक्षेप बैंकबाट झिक्न आग्रह गरिएको कुरालाई उनले भ्रामक, मनगढन्ते, नितान्त निजी विचार, आवेग, दम्भ र व्यक्तिगत आक्रोसका रुपमा लिएका छन् । त्यस्ता प्रकारका प्रस्तुती, अभिव्यक्ति र अन्तर्वाता वा अन्य कुनै पनि माध्यमबाट सम्प्रेषण गरी सार्वजनिक गर्नु अतिरञ्जित भएको उनको भनाइ छ ।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एनआईसी एशिया बैंक डुब्दैछ भनेर केही दिन पहिला अफवाह फैलाएका थिए । प्रसाईँको अभिव्यक्तिलाई लिएर समाज त्रासित भइरहेको अवस्थामा पूर्वकार्यकारी निर्देशक पौडेलले विभिन्न आधारहरु प्रस्तुत गर्दै भ्रममा नपर्न भनेका छन् ।
पूर्वकार्यकारी निर्देशक पौडेलले बैंक सक्षम र सबल रहेको निम्न आधार प्रस्तुत गरेका छन्ः
-बैंकले प्रकाशित गरेको प्रतिवेदनअनुसार २०८० पुस मसान्तमा निक्षेप दायित्व रु ३८३.४४ अर्व (अघिल्लो वर्ष रु ३०९.३५ अर्व) र कर्जा रु ३०२.६७ अर्व (अघिल्लो वर्ष रु २६६.६८ अर्व) रही कर्जा–निक्षेप अनुपात (CD Ratio) ७७.१८ प्रतिशत (अघिल्लो वर्ष ८३.८४ प्रतिशत) रहेको छ । त्यसैगरी तरलता अनुपात (Liquidity Ratio) उक्त अवधिमा पर्याप्त अर्थात् २७.२८ प्रतिशत (अघिल्लो वर्ष २२.४७ प्रतिशत) रहेबाट बैंकले नगदमा परिण गर्न सक्ने सम्पत्ति करिब १ खर्बको हाराहारीमा देखिन्छ । यी परिसूचकहरुलाई नियाल्दा अवस्था सामान्य देखिन्छ । अफवाह र अनर्गल प्रचारको प्रभावले पछिल्लो समयमा भने निक्षेप झिकिएको कारण तरलता अनुपातमा कमी आई कर्जा–निक्षेप अनुपात बढेको हुन सक्ला ।
-उक्त अवधिमा पूँजीकोष (Capital Adequacy Ratio) १२.२१ प्रतिशत (अघिल्लो वर्षको सोही अवधिमा १३.१८ प्रतिशत) र निष्कृय कर्जा (Non-Performing Loan) १.१९ प्रतिशत (अघिल्लो वर्ष ०.६१ प्रतिशत) रहेको छ । यी परिसूचकहरु स्वीकार्य स्तरमा र नेपाल राष्ट्र बैंकको निर्देशनको परिधीभित्रनै रहेका छन् ।
-कोषको लागत (Cost of Funds) आधार दर (Base Rate) तथा ब्याजदर–अन्तर (Interest Rate Spread) जस्ता दरहरुमा समय–समयमा हुने सामान्य उतार–चढाव बाहेक कुनै पनि अर्थमा अस्वभाविक र अनियन्त्रित देखिंदैनन् ।
-बैंकले अघिल्लो आ.व. २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई २९ प्रतिशतका दरले बोनस शेयर वितरण गरेकोमा चालु आ.व. को दोस्रो त्रयमासमा वितरणयोग्य मुनाफमा संकुचन आएको परिणमस्वरुप बैंकको प्रति शेयर किताबी मुल्यमा कमी आई रु २०५.१० (अघिल्लो वर्ष रु २४३.९७) कायम भएको देखिएको छ ।
-समस्याहरु जहाँ पनि हुन्छन्, एउटा संस्था विशेषमा होला या समग्र प्रणालीमै पनि होला । सोचेअनुसार व्यासाय विस्तार भएन होला, अपेक्षा गरेबमोजिमको प्रतिफल नभएको होला, कर्जा असुलीमा चुनौती देखिएको होला, संचालन लागत बढेको होला, बजार हिस्सामा कमी आएको होला, अघिल्लो वर्ष जस्तो कार्य–सम्पादन गर्न सकिएन होला या प्रतिस्पर्धीको तुलनामा केही पछि परिएको होला । यी सबै समस्याहरु हुन् र यसको समाधान वा निकास नै नहुने भन्ने चाहिं होइन । देखिएका समस्या तथा चुनौतीहरुलाई अतिरञ्जित गरेर अमूर्त शैलीमा ठुलै संकट (Bank Run/Panic/Crisis) आउँदैछ भनी अनर्गल प्रचार गर्ने कार्यलाई सबै सचेत वर्गले निरुत्साहित पार्नु जरुरी छ ।
-बैेक तथा वित्तीय संस्थाहरुमा विगतमा पनि समस्याहरु आउँथे, नेपाल राष्ट्र बैंकले आवश्यक कारवाही गरेको वा व्यवस्थापन नै आफ्नो नियन्त्रणमा लिएको वा खारेजीमा पठाएको उदाहरणहरु छन् । तर अहिलेसम्म कुनै पनि निक्षेपकर्ताको निक्षेप धराप वा जोखिममा परेको अवस्था भने छैन ।
– यस्ता भ्रामक समाचारहरु प्रकाशित भएकोमा उक्त बैंकको समेत ध्यानाकर्षण भई त्यस्ता झुठा र आधारहीन तथ्यका पछाडि नलाग्न बैंक आंफैले पनि विज्ञप्ति निकाली सरोकारवालाहरुलाई सजग गराई रहेको पनि छ ।
-अतः उपरोक्त तर्क र तथ्यका आधारमा त्यस्ता आधारहीन र भ्रामक हल्लाका पछाडि नलागि एउटा सचेत नागरिकले स्थितिको यथार्थ अनि वस्तुपरक विश्लेषण गर्नु आवश्यक छ ।