काठमाडौं, फागुन ९ । नेकपा (एमाले)को केन्द्रीय समितिको बैठक आजपनि जारी रहने भएको छ। मङ्गलवारबाट सुरु भएको पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल हुँदैछ । आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा प्रस्तुत भएका चारवटा कार्ययोजनामा समूहगत छलफल हुँदैछ।
त्यसका लागि एमालेले ९ वटा समूहमा विभाजन गरेको छ। यसपटक एमालेले पार्टी स्थायी कमिटी, सात प्रदेशका छुट्टाछुट्टै र उपत्यका विशेष समन्वय, सम्पर्क समन्वय र जनसङ्गठन, विभागहरूलाई एउटा समूह गरी ९ समूहमा बाँडेर छलफल गराउन लागेको हो। विषय तोकेरै केन्द्रीय सदस्यहरूलाई समूह छलफल गराउने र सदस्यहरूलाई बोल्न दिने एमालेको तयारी छ।
समूह छलफलमा कमिटीका पदाधिकारी तथा सदस्यहरूको व्यवस्थापन, परिचालनको विषय, पार्टीभित्र जीवनशैली, कार्यशैली, आर्थिक तथा नैतिक आचरण र पारदर्शिता कायम राख्नेबारे पनि समूहमा छलफल हुनेछ। छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी बिहीबार केन्द्रीय कमिटीको बैठकमा त्यसबारेमा सम्बन्धित नेताहरुले जवाफ दिँदै बैठक सकिने छ ।