काठमाडौं,९ फागुन । आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । आज भएको खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको हो । नामिबियासँग यो नेपालको लगातार दोस्रो हार हो । यसअघि लिग २ को पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।
नेपालले दिएको १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर १७२ रन जोड्यो । नामिबियाका लागि जेराल्ड एरास्मसले ५२ रनको अर्धशतकीय पाली खेले । जेजे स्मिथले ३४ रन जोडेको खेलमा माइकल भान लिंगेनले ३१, रुबेन ट्रम्पलम्यानले १६, बर्नार्ड स्कोल्ज र निको डाभिनले समान ८ रन जोडे ।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले तीन विकेट लिएपनि खेल जिताउन सकेनन् । दीपेन्द्र सिंह ऐरीले २ विकेट लिएको खेलमा रोतिक पौडेल, ललित राजवंशी, कुशल मल्लले समान १ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल नेपाल १६८ रनमा अलआउट भएको थियो ।
नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे पनि अरु ब्याटर चल्न सकेनन्। कप्तान रोहित पौडेलसहित चार ब्याटरले खाता खोल्न सकेनन् भने ६ ब्याटरले दोहोरो अंकमा रन बनाएनन्।
६४ बलमा ८ चौका र १ छक्का प्रहार गरेका आसिफले ५८ रन जोडे। आसिफको यो १२औं एकदिवसीय अर्धशतक हो। उनले एकदिवसीय खेलमा एक शतक पनि प्रहार गरेका छ्न। जारी सिरिजमा उनले नेदरल्यान्ड्सविरूद्धको अघिल्लो खेलमा पनि अर्धशतक प्रहार गर्ने क्रममा नटआउट ५४ रन जोडेका थिए।
अर्का ओपनर कुशल भुर्तेलले १८ रन जोडे। उनले आसिफसँग ३८ रनको ओपनिङ साझेदारी गरे। उनी सातौं ओभरमा बर्नाल्ड स्कोल्जको एलबिडब्लूको धरापमा परेका थिए। सोहि ओभरमा अनिल साह र अर्को ओभरमा देव खनाल शून्यमा आउट भएपछि नेपाल सुरुमै दबाबमा परेको थियो। नेपालले आठ ओभरमा महत्वपूर्ण तीन विकेट गुमाउँदा ४३ रन जोडेको थियो।
खेलमा कप्तान रोहित पौडेल पनि चल्न सकेनन्। २४ ओभरमा आउट भएका रोहित ९ बल खेल्दा शून्यमा आउट भए। त्यसपछि कुशल मल्लले २६ रन जोड्दा नेपालको रन केही बढेको थियो।
दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी ३४औं ओभरको चार बलको अन्तरमा आउट भए। दीपेन्द्र सो ओभरको दोस्रो बलमा ६ रनमा आउट हुँदा सोमपाल पाँचौ बलमा ४ रनमा आउट भए।
३५औं ओभरमा भीम सार्की स्कोल्जबाट बोल्ड भए । उनले २६ रन बनाए। यस्तै करण केसीले अन्तिम विकेटको रुपमा आउट हुनुअघि १२ रन जोडे। बलिङमा स्कोल्जले ४ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ३१ रन खर्चिए। जान निकोलले पनि ४ विकेट लिए। उनले ६।१ ओभरमा ३४ रन खर्चिए।