Logo

महासमिति बैठकः निर्वाचनअघि गठबन्धन नगर्ने गगनको प्रस्तावमा बलियो मत



काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा जारी रहेको छ । गत सोमबारदेखि सुरु भएको महाधिवेशन बैठकमा आज विभिन्न पाँच वटा प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतक प्रस्ताव, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशाबारे प्रस्ताव तथा लेखासमिति संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए । आज सोही प्रतिवेदनमाथि छलफल भइरहेको हो ।

विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल भइरहँदा अधिकांश जिल्ला सभापतिहरुले चुनावी गठबन्धनको विपक्षमा आफूलाई उभ्याइरहेका छन् । उनीहरुले निर्वाचनअघि गठबन्धन गर्दा संगठनहरु कमजोर बनेको, नेताहरुले चुनाव लड्ने अवसर नपाएको लगायतका विषयलाई उजागर गरेका छन् ।

महामन्त्री थापाले आफ्नो सांगठनिक प्रस्तावमा कांग्रेस प्रि इलेक्सनको विपक्षमा जानुपर्ने प्रस्ताव पेश गरेका थिए । सभापति शेरबहादुर देउवाको असन्तुष्टिको बाबजुद पनि उक्त प्रस्ताव महासमिति बैठकमा पेश भएको हो । महामन्त्री थापाको उक्त प्रस्तावमा अधिकांश जिल्ला सभापतिहरुले सहमति जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्