खोटाङ, फागुन २१ । हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ । कृषकले उत्पादन गरेका कृषि उपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो । सहज नेपाल संस्थाको प्राविधिक सहयोगमा निर्माण गरिएको भवन निजी संस्थालाई भाडामा दिएर कृषि मार्ट सञ्चालन गरिएको हो ।
गत आर्थिक वर्षमा विनियोजित रु १८ लाख ४४ हजार र चालु आव २०८०/०८१ मा विनियोजन गरिएको रु १९ लाख ९४ हजार ८३१ लगानीमा कृषि मार्ट र चिस्यान केन्द्र निर्माण गरिएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषि उपज कृषि मार्टमा लगेर कृषि उपज बिक्री गर्ने छन् ।
केही दिनअघि नगरपालिकाले नगरपालिकाभित्रका कृषक र होटल व्यवसायीसँग छलफल गरेर तरकारीको मूल्यसमेत निर्धारण गरेको थियो । सोही मूल्यअनुसार कृषकले उत्पादन गरेको कृषि उपज कृषि मार्टमा बिक्री हुने जनाइएको छ । स्थानीय राजनीतिक दल, सरोकारवाला निकालयलगायतको उपस्थितिमा नगर प्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले औपचारिक उद्घाटन गरेको ‘हलेसी कृषि मार्ट’मा कृषकले उत्पादन गरेर ल्याएका कृषि उपज सङ्कलन गरेर बिक्री गर्नसमेत सुरु गरिएको छ । उद्घाटन गर्नुअघि कृषक आलु, साग, धनिया, कोभी, मुलालगायतका तरकारी बिक्री गर्न कृषि मार्टमा आएका थिए ।
आफूले उत्पादन गरेर ल्याएको कृषि उपज एकै ठाउँमा बिक्री गर्न पाउँदा खुसी लाग्नुका साथै सहज भएको अगुवा कृषक अनिता राईले बताएका छन्। ‘अरु बेला आफूले उत्पादन गरेका कृषि उपज बोकेर सबै घर, होटलमा डुलेर कराउँदै बेच्नुपर्थ्यो । आज सहजै यहाँ एकै ठाउँमा बिक्री हुँदा धेरै खुसी लागेको छ’, उनले भने, ‘कृषि उपजको बजारीकरणका लागि सञ्चालन गरिएको कृषि मार्टले निरन्तरता पाउन आवश्यक छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’
नगरपालिकाले निर्धारण गरेको मूल्य आवश्यकता र समयको आधारमा परिवर्तन गर्दै जाने गरी हलेसी बजारमा कृषि मार्ट सञ्चालन गरिएको नगर प्रमुख राईले बताएका छन् । ‘त्रिधार्मिकस्थल हलेसी सबैको आस्थाको धरोहर हो । यहाँ हजारौँ मानिसको आवतजावत हुन्छ । यहाँ आउने पर्यटकलाई अर्ग्यानिक खानेकुरा पुर्याउन सकिएको छैन । नगरपालिकाले यसतर्फ मध्यनजर गर्दै कृषि मार्ट सञ्चालनमा ल्याइएको छ’, उनले भने, ‘मार्ट सञ्चालकले नगरपालिकाले तोकेको मूल्यमा कृषकबाट कृषि उपज खरिद गर्नुपर्छ ।
कृषकबाट खरिद गरिएको कृषि उपज मार्ट सञ्चालकले २० प्रतिशतसम्म मात्र नाफा लिएर बिक्री गर्छन् । विगतमा कृषि उपज बिक्री नहुने, उचित मूल्य नपाउने, बिक्री गर्न घरमा बोकेर डुलाउँदै जानुपर्ने कृषकको बाध्यता थियो । कृषि मार्ट र चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकको उक्त समस्या समाधान भएको छ ।’
मध्यपहाडी लोकमार्गमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा आगामी दिनमा दूध डेरीसमेत सञ्चालनको लागि तयारी गरिएको नगरपालिकाले जनाएको छ । दूध उत्पादनको लागि नगरपालिकाले भैँसी प्रवर्द्धन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।
हरेक दिन सयौँको सङ्ख्यामा त्रिधार्मिकस्थल हलेसीमा पर्यटक आउने गरेका छन् । जसकारण हलेसी क्षेत्रका होटल प्रायः सधैँ चलायमान हुन्छन् । तर, व्यवस्थापन हुन नसक्दा स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज कुहिएर जाने र बाहिरबाट तरकारी भित्रिने गरेको थियो । नगरपालिकाले कृषि मार्ट सञ्चालनमा ल्याएसँगै कृषकले उत्पादन गरेको सबै कृषि उपज बिक्री हुने विश्वास लिइएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक तथा भक्तजन आउने भएकाले पनि उक्त कृषि मार्ट निरन्तर सञ्चालन हुनेमा कृषक ढुक्क छन् । रासस