Logo

फुटपाथ व्यवासायीमाथि कुटपीट घटनाको अनुगमन गर्दै मानव अधिकार आयोग



काठमाडौं, फागुन २२ । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौं महानगरपालिकाका प्रहरीले फुटपाथ व्यवसायीलाई कुटपिट गर्नुका साथै दुर्व्यवहार गरेको घटनाको अनुगमन गरेको छ ।

आयोगले महानगरका प्रहरीको कुटपिटबाट घाइते भएका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत अनुगमनका क्रममा पाइएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बताए। “व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत सूचना अनुगमनका क्रममा आयोगलाई प्राप्त भएका छन्”, उनले भने ।

काठमाडौं महानगर प्रहरीले सुन्धारा आसपासका सडकमा व्यापार व्यवसाय गरिरहेका फुटपाथ व्यवसायीमाथि यही फागुन १६ गते कुटपिट तथा बल प्रयोग गरेको र तत्पश्चात् काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा दुवैतर्फका ११ व्यक्ति घाइते भएका थिए । आयोगले उक्त घटनाको अध्ययन गरिरहेको जनाएको छ ।

घटनाको सत्यतथ्य विवरण एवं फुटपाथ व्यवसायीसँग यसअघि गरिएका सम्झौताको कार्यान्वयन अवस्थासहितको जानकारी उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई पत्राचार गर्नुका साथै फुटपाथ व्यवसायी र सरोकारवालासँग जानकारीसमेत लिएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्