काठमाडौं, २२ फागुन । केन्द्रीय सत्ता गठबन्धनमा भएको परिवर्तनसँगै सातै प्रदेश सरकारमा हलचल सुरु भएको छ । कर्णालीमा कांग्रेसका तीन मन्त्रीहरुले राजीनामा दिइसकेका छन् । त्यस्तै, गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका दुई मन्त्री शुशिला सिम्खडा र रेशम जुक्जालीलाई बर्खास्त गरेका छन् । त्यस्तै, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरु रमेश धामी, झप्पड साउद र राज्यमन्त्री गीतादेवी माल बर्खास्तीमा परेका छन् ।
यता, बागमती प्रदेशमा पनि कांग्रेस सरकारबाट बाहिरिँदै गर्दा सरकार गठन निकै सकसपूर्ण छ । अहिले केन्द्रीय सरकारमा नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले), जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेका छन् । यी चार दलमध्ये कुनै पनि प्रदेशमा रास्वपाको सहभागिता छैन । त्यस्तै बागमतीमा जसपाका सांसद छैनन् । कूल ११० सदस्यी बागमती प्रदेश सभामा एमालेका २७ र माओवादीका २१ सांसद छन् । सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक छ ।
अहिले केन्द्रीय गठबन्धनमा रहेका एमाले–माओवादीलाई सरकार गठन गर्न अझै ८ जना सांसद्को समर्थन आवश्यक पर्छ । त्यसका लागि कि त राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन लिन पर्ने हुन्छ । तर, राप्रपाले केन्द्रदेखि कुनै पनि सरकारमा सहभागी नहुने उद्घोष गरिसकेको छ ।
अब एमाले–माओवादी गठबन्धनलाई सरकार गठन गर्न नेकपा (एकीकृत समाजवादी) र अन्य दुई साना दल नेपाल मजदुर किसान पार्टी वा हाम्रो नेपाली पार्टीमध्ये एउटाको समर्थन आवश्क छ । बागमतीमा एकीकृत समाजवादीको ७ सिट छ । त्यस्तै, नेमकिपाको ३ सिट र हाम्रो नेपाली पार्टीको २ सिट छ । यसरी, माओवादी–एमाले गठबन्धनलाई एकीकृत समाजवादी र नेमकिपा वा हाम्रो नेपाली पार्टीले साथ दिएमामात्रै सरकार बन्छ ।
त्यस्तै, भर्खरै केन्द्रीय सत्ता गठबन्धनबाट बाहिरिएको नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने सम्भावना पनि बलियो छ । बागमतीमा कांग्रेससँग ३७ सिट छ । यदि (एकीकृत समाजवादी) केन्द्रीय गठबन्धनमा सहभागी नहुँदा र राप्रपाले पनि कांग्रेसलाई साथ दिँदा बागमतीमा कांग्रेस नेतृत्वको सरकार सहजै बन्छ ।