काठमाडौं, २२ फागुन । केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिएको छ । केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन टुटेर एमाले–माओवादीको गठबन्धन बनेको छ । यसरी गठबन्धनमा फेरबदल आउँदा प्रदेश सरकारमा भने तरङ्ग पैदा भएको छ ।
केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएसँगै सातै प्रदेश सरकार परिवर्तन हुने भएको छ । तर, बागमती, गण्डकी, कोशी लगायतका प्रदेश माओवादी–एमाले नेतृत्वको गठबन्धनलाई सरकार बनाउन कठिन देखिएको छ ।
बागमतीमा एमाले–माओवादी मिल्दा पनि बहुमत छैन । त्यस्तै कोशीमा सरकार गठन गर्ने संवैधानिक बाटो नै बन्द भएको छ । त्यस्तै, गण्डकीमा पनि एमाले–माओवादी नेतृत्वको प्रदेश सरकार गठनमा चुनौति देखिएको छ ।
गण्डकीमा एमालेसँग २२ सिट छ भने माओवादीसँग सभामुखसहित ८ सिट छ । सभामुखले मत हाल्न नपाउने भएपछि माओवादीको ७ सिटमात्रै गणना हुन्छ । एमाले–माओवादीसँग २९ सिट छ । गण्डकीमा सरकार गठनका लागि ३१ सांसदहरुको समर्थन आश्यक छ । गण्डकीमा सरकार बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्णाय देखिएको छ । राप्रपा सरकारमा नआउृँदै गर्दा एमाले–माओवादी सरकार सम्भव छैन । अहिले गठबन्धन दल भन्दा बाहिर रहेको दल राप्रपालाई हातमा लिएमा मात्रै गण्डकी प्रदेश सरकार बन्ने देखिन्छ । अन्यत्र कोशी प्रदेशकै नियती दाहोरिने निश्चित प्रायः छ ।