काठमाडौँ, २२ फागुन । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नवगठित सत्ता गठबन्धनका शीर्ष नेताहरुले आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई मिलेर जान गरेको प्रस्तावलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन् ।
आज (मंगलबार) माधव नेपालको निवास कोटेश्वरमा भेटवार्ता गरी दाहाल र ओलीले एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन माधव नेपालसमक्ष आग्रह गरेका हुन् ।
महासचिव भुसालले प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले नयाँ गठबन्धनको आवश्यकता र औचित्यबारे अवगत गराएको र त्यसमा सहभागी हुन आग्रह गरेको जनाए । सो विषयमा आफूहरुले पार्टीको बैठकबाट निर्णय लिने पनि उनले जानकारी दिए ।
उनले भने,“उहाँहरुले मिलेर जान गर्नुभएको प्रस्तावलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । कसरी मिलेर जाने भन्ने सम्बन्धमा बुधबार बिहान बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ ।” file photo