काठमाडौं, फागुन २३ । नवगठित सत्ता गठबन्धनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले राखेको प्रस्तावमाथि एकीकृत समाजवादीले आज निर्णय लिदैछ ।
अहिले बिहान ११ बजे बस्ने समाजवादीको केन्द्रीय सचिवालय बैठकले गठबन्धनमा सहभागी हुने वा नहुनेबारे निर्णय गर्न लागेको हो । मंगलबार बेलुका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले माधवकुमार नेपालको कोटेश्वर निवासमा पुगेर गरेको छलफलमा सत्ता सहकार्यको लागि प्रस्ताव गरेका थिए ।
दुई घण्टा लामो उक्त भेटघाटमा प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाउनुपर्नाको कारणबारे विस्तृतमा व्याख्या गरेका थिए ।
नेपाल निवास कोटेश्वरबाट बाहिरिने क्रममा ओलीले माधव नेपालसँगको छलफल सकारात्मक भएको बताएका थिए ।
छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका महासचिव भुसाल, प्रेम आले पनि सहभागी थिए । नेपाली कांग्रेस–माओवादी गठबन्धन टुटेर एमालेसहितको गठबन्धन सरकार बनेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् । उनले अब संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।