Logo

देउवा शक्तिसञ्चयका लागि अगाडि बढे



काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी नभएका दलहरुलाई ‘चिया पिउन’ भन्दै बुढानीलकण्डमा बोलाएका छन् । उनले आज बेलुका ४ बजे लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतका नेताहरुलाई बुढानीलकण्ठमा बोलाएका छन् ।

साथै, देउवाले आज विहानमात्रै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई उनकै निवासमा पुगेर भेटेका छन् । प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको गठबन्धन तोडेर एमालेको सहयोगमा सरकार गठन गरेपछि देउवा पनि सरकारबाहिर रहेका दलहरुसँग संवादमा जुटेका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नउपाका अध्यक्ष रेशमलाल चौधरीले आफूलाई पनि देउवाले चिया पिउन भन्दै बोलाएको बताए । आफू अरु सबैको चिया खाएपछि देउवाको चिया चाहीँ किन नखाने भनरे बूढानीलकण्ठ जान लागेको बताए ।

साथै, अन्य पाँचछ वटा दलहरु पनि उक्त चियापान कार्यक्रममा सहभागी हुने उनले खुलासा गरे । ‘४ बजे चिया खान बोलाउनु भएको छ । तपाईहरु पनि उतै लाग्नुस् । त्यहाँ ममात्रै हुने छैन । त्यहाँ धेरै दलका साथीहरु हुने छन् ।’ उनले भने, ‘कुरो यतिमात्रै हो ४ बजे चिया खान म बुढानीलकण्ठमा जाँदैछु । शेरबहादुरजीले चिया खान बोलाउनु भयो । उहाँको चिया चाहीँ किन नखाइदिने ?’



प्रतिक्रिया दिनुहोस्