Logo

वन मन्त्रालयमा निवर्तमान मन्त्री महतोको बिदाई



काठमाडौं, २३ फागुन । निवर्तमान वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले वन तथा वातावरण क्षेत्रमा उल्लेखनीय काम गर्न सकेकोमा खुशी व्यक्त गरेका छन् । आज (बुधवार) सिंहदरबारस्थित् मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री महतोले आफूले मन्त्रालयको नेतृत्वमा रहँदासम्म मुलुक र जनताको हित हुनेगरि कदम चालेको र त्यसको लागि कर्मचारीको तहबाट भएको सहयोगको खुलेर प्रशंसा गरे ।

उनले आफू मन्त्री रहँदा कोप–२८ मा नेपालको दरिलो उपस्थिति भएको र सो सम्मेलनबाट नेपालले लाभ लिनसकेको पनि सुनाए । यसको साथै, हालै केन्याको नाइरोबीमा आयोजित संयुक्तराष्ट्र संघीय पर्यावरण सम्मेलनमा पनि आफूले भाग लिएको र नेपाललाई विश्व मञ्चमा उभ्याउन सकेको महतोले सुनाए ।

मन्त्रालयका सचिव डा. दीपक खरालले महतोलाई खादा तथा माला लगाएर बिदाई गरेका थिए । साथै, मन्त्रालयको कर्मचारीको तर्फबाट गैंडाको प्रतिमाको मायाको चिनो उपहारसमेत निवर्तमान मन्त्री महतोलाई प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्