काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले विवादित अभिव्यक्ति नदिएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संघीय संसद् भवन बानेश्वर पुगेका किरातीले आफ्नो अभिव्यक्तिलाई नियोजित ढंगले विवादित बनाइएको बताएका हुन् ।
‘तपाईँले विगतमा दिएको विवादित अभिव्यक्तिका कारण पुनः मन्त्रीमा दोहोरिनु भएन भन्छन् नि ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘के विवाद भयो र ? संविधानकै कुरा गर्दाखेरी । मैले विवादित अभिव्यक्ति दिएको होईन, मान्छेहरुले गरिदिएको हो, बनाइदिएको हो । म विवादित छैन, नेपाली राजनीतिमा फर्केर हेर्नुहोस् न, यसलाई विवादित भनिन्छ ?’
सरकार सञ्चालनका लागि अनुभवी मन्त्रीहरुको आवश्यक परेकाले प्रधानमन्त्री प्रचण्डले आफूलाई मन्त्री नबनाएको आफ्नो बुझाइ रहेको उनले बताए ।
तत्कालीन मन्त्री किरातीले क्रिशमसको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्ति विवादित बनेको थियो । उक्त अभिव्यक्तिलाई लिएर सर्वत्र विरोध भएको थियो । File Photo/RN