काठमाडौं, २४ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभाग उप-प्रमुख विष्णु रिजालले नेपाली कांग्रेसले नै राजनीतिमा अविश्वास, बेइमानी, अस्थिरता र लिलाम बढाबडको प्रारम्भ गरेको आरोप लगाएका छन् ।
आफ्नो दलसँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसका नेताहरुले राजनीतिक बेइमानको संज्ञा दिएपछि नेता रिजालको यस्तो टिप्पणी आएको हो ।रिजालले फेशबुकमा लेखेका छन्-
माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफैँलाई प्रधानमन्त्री बनाउने दलहरुसँग सहकार्य गर्दा कांग्रेसलाई ‘राजनीतिक अस्थिरता’को दिव्य चक्षु खुलेछ । २०७९ पुस १० गते बहुमत जुटाएर सरकार बनाइसकेपछि त्यसभित्र सूँढ घुसाएर १६ दिनमै पुस २६ गते चाहिँदै नचाहिएको विश्वासको मत दिएर अविश्वास, वेमानी, अस्थिरता र लिलाम बढाबढको राजनीति कांग्रेसले प्रारम्भ गरेको होइन र ? माओवादीसँग मिलेर ठूलो पार्टी बन्ने, अरुसँगको गठबन्धन अनेक जुक्ति लगाएर भत्काउने अनि अब कतै जाने ठाउँ छैन भन्ने ठानेपछि ‘गठबन्धन गर्नु गलत रहेछ, अब गरिँदैन’ भनेर कथित सिद्धान्त प्रतिपादन गर्ने अवसरवाद कांग्रेसको शब्दकोषमै सीमित राखे हुन्छ । सिद्धान्त प्रतिपादन गर्दा ‘माछा आए दुलाभित्र हात, भ्यागुता आए दुलाबाहिर हात’ गर्न मिल्दैन होला मान्यवर !