काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समिति सभापति डा.आरजु राणा देउवाले महिलामैत्री नीति र कानून निर्माणका लागि संसदमा क्रियाशील रहने बताएकी छन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सांसद देउवाले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै सूचना प्रविधिमा महिलाको पहुँच स्थापित गर्न नीतिगत सुधारमा क्रियाशील रहने बताएकी हुन् ।
‘प्रतिनिधि सभा सदस्यको हैसियतमा मैले व्यक्तिगत रूपमा महिला मैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु । प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिने गरी नीतिगत सुधारमा काम गर्नेछु’, उनले भनेकी छन्, ‘आजको दिन ग्रामीण र सीमान्तकृत समुदायका महिलाहरूको प्रविधि साक्षरता बढाउँदै सूचना प्रविधिको क्षेत्रमा उनीहरूको पहुँच पुर्याउने नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’
महिला सशक्तीकरणको विषय केवल महिलाको मात्र मुद्दा नभएको र यसका लागि महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका आवश्यक पर्ने पनि उनले बताइन् ।
उनले विश्वभर आज पनि महिलामाथि कुनै न कुनै प्रकारका विभेदहरू कायमै रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अवसरमा महिलाहरूको पहुँच अझै पनि सन्तुष्ट हुने स्तरमा पुग्न नसकेको बताएकी छन् ।
‘महिलाहरूले कार्यस्थलमा विभेदका साथै समान अवसरहरुका क्षेत्रमा बाधा र भेदभाव भोग्दै आएका छन् । तर हामी सबैले हातेमाले गरेर यी चुनौतिहरु पन्छाउदै जानुपर्ने छ । आपसी सहकार्यबाट महिलाका लागि विभिन्न क्षेत्रमा भएका अवरोधहरु तोड्न सबै लागि पर्नुपर्ने अवस्था छ’, कृषि समिति सभापति देउवाले भनेकी छन् ।
विकसित मुलुकहरूको तुलनामा नेपाली नारीहरूले आधारभूत आवश्यकतामै विभेद र शोषण भोग्दै आएको उनको दाबी छ ।
‘उनीहरूलाई न्याय र समानता दिलाउने उद्देश्य हामी सम्पूर्ण नारीहरूको मात्रै नभई नारी र पुरूष दुवैको हो । महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न संविधान र कानूनमार्फत अभ्यासमा आएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नारीहरुले आफुले पाएका अवसरमा सफलता प्रमाणित गरिसकेका पनि छन् । हामी महिलाहरू परिवार, समुदाय र राष्ट्रकै नेतृत्वकर्ता हौं । महिलाहरू समाजका हरेक क्षेत्रमा सफल हुँदै आएको हाम्रो गौरवमय इतिहास पनि छ । यद्यपि, हामीले अझै पनि धेरै काम गर्न बाँकी छ ।’