Logo

नयाँ समीकरणको सरकार ऐतिहासिक आवश्यकता र आफैंमा कार्यगत एकता होः झलनाथ खनाल



काठमाडौं, २६ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले–माओवादीसहितको गठबन्धन आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । आज (शनिबार) विज्ञप्ति सार्वजनिक गर्दै उनले यो गठबन्धन आफैंमा कार्यगत एकताको रुपमा औंल्याएका छन् ।

साथै, उनले नयाँ समीकरणमा बनेको गठबन्धन र सरकारलाई शुभकामना दिएका छन् । विगतको गठबन्धनले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै पनि आधारभूत समस्याहरुलाई सम्बोधन गर्न नसकेकाले एमाले-माओवादीसहित अन्य दलको नयाँ गठबन्धनको आवश्यकता परेको उनको भनाइ छ ।

एमाले–माओवादीसहितको गठबन्धन सरकारले देशको राजनीति, अर्थतन्त्र, सामजिक तथा सांस्कृतिक स्थिति र राष्ट्रियतामा देखा परेको समस्या समाधान गर्नसक्ने उनको विश्वास छ ।

उनले विज्ञप्तिमार्फत भनेका छन्ः

नँया समिकरणको सरकारलाई शुभकामना !!!
हाम्रो देशमा एक वर्ष अघि बनेको गठबन्धनको सरकार टुटेको छ र वामपन्थी शक्तिहरूको पहल र नेतृत्वमा यहि २१ फागुनमा नयाँ बाम–लोकतान्त्रिक गठबन्धनको सरकारले आकार लिएको छ । यो नेपालको समकालिन राजनीतिक परिस्थितिमा आएको एउटा महत्वपूर्ण सकारात्मक परिवर्तन हो । यो नयाँ सरकारलाई सर्वप्रथम हाम्रो पार्टीको तर्फबाट म हार्दिक स्वागत र समर्थन गर्दछु ।

आजको त्रिशंखु संसदमा कुनै पनि पार्टीको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अनिवार्य नै थियो र छ । तर विगतको गठबन्धनले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै पनि आधारभूत समस्याहरुलाई सम्बोधन गर्न सकेन । देशको राजनीति, अर्थतन्त्र, सामजिक तथा सांस्कृतिक स्थिति र राष्ट्रियता सबै क्षेत्र झनझन संकटग्रस्त बन्दै गइरहेको थियो । बेरोजगारी र भ्रष्टाचार झन व्यापक बन्दै गएको थियो र देशका युवाहरू बाहिर जाने क्रम झनझन तीब्र बनिरहेको थियो । त्यसले गर्दा वामपन्थी एकताको माग दिन प्रतिदिन बढिरहेको थियो र मुलुकको राजनीतिक कोर्स बदल्नुपर्छ भन्ने माग प्रबल बनिरहेको थियो । त्यहि जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिबिम्बित गर्दै यो बाम लोकतान्त्रिक शक्तिहरूको नँया सरकार बनेको छ र यो सरकारमा हाम्रो पनि पार्टी संलग्न भईसकेको छ । यो सरकार बन्दा आज आमजनतामा नँया आशाको संचार भएको छ र मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएका छन ।

यतिबेला विश्वको परिस्थिति अत्यन्त तनावयुक्त बन्दै गएको छ । भूराजनीतिक शक्तिहरू बीचको प्रतिस्पर्धा तीव्र बनिरहेको छ । त्यसले गर्दा द्धन्द, हिंसा र युद्धका क्षेत्रहरू फैलिरहेका छन । कतै विश्व युद्ध त हुने होइन भन्ने आशंका देखिन थालेको छ । हाम्रो देशको रणनीतिक महत्वका कारणले भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको छ । यस्तो स्थितिमा हामीले मुलुकको सर्र्वोपरि राष्ट्रिय हितलाई ध्यानमा राख्दै सन्तुलित विदेश नीतिलाई अख्तियार गर्दै हाम्रा अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोगहरुलाई अघि बढाउनु पर्ने चुनौतिपूर्ण आवश्यकता हाम्रा सामु छन ।

ठीक त्यसरी नै आज मुलुकमा व्यवस्था परिवर्तन भयो, तर जनताको अवस्थामा परिवर्तन भएन भन्ने गुनासो चर्को गरी फैलिरहेको छ । यस्तो अवस्थामा देशका श्रमजीवीहरू, भूमिहीन, गरिब र सुकुम्बासी जनताका समस्याहरू समाधान गर्न भूमिसुधार गर्नुपर्ने, कृषि उत्पादनलाई व्यापक बनाउने, कृषि क्रान्तिलाई अघि बढाउनुपर्ने, मुलुकलाई राष्ट्रिय औद्योगिकरणको दिशामा अघि बढाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्नुपर्ने, मंहगी र मूल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारलाई माथि देखि तलै सम्म निर्ममतापूर्वक नियन्त्रण गर्नुपर्ने, हर क्षेत्रमा रोजगारी सिर्जना गर्नुपर्ने, राष्ट्रिय अर्थतन्त्रको हित अनुरूप भन्सार नीति बनाउनुपर्ने, वित्तीय र मौद्रिक नीतिमा सुधार गर्नुपर्ने, राष्ट्रिय उद्यमहरूको संरक्षण गर्नुपर्ने, देशको निजामती र जङ्गी प्रशासनलाई लोकतान्त्रिकरण गर्नुपर्ने, सर्बत्र सुशासन कायम गर्नुपर्ने, राज्यले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने, हाम्रा दुवै छिमेकीहरूबाट निर्वाध पारबहन सुविधा प्राप्त गर्नुपर्ने, पग्लिरहेको हिमालको संरक्षण गर्नुपर्ने, फैलँदो प्रदूषणबाट वातावरणको संरक्षण गर्नुपर्ने, मुलुकलाई गरिबी उन्मुलनको दिशामा अघि बढाउनुपर्र्ने, मुलुकको विकास निर्माणको कामलाई तीव्रता प्रदान गर्नुपर्ने, मुलुकको भूभाग र सीमानाको दृढतापूर्वक रक्षा गर्नुपर्ने जस्ता चुनौतीपूर्ण कामहरू हाम्रा सामु छन । यी कामहरूलाई नै यो नयाँ सरकारले आफ्नो कार्यभारका रुपमा लिनुपर्ने छ ।

के उपरोक्त कार्यभारहरू यो सरकारले सफलतापूर्वक पूरा गर्न सक्छ ? सक्नुपर्छ । यो सरकारलाई दायाँबायाँ गर्ने कुनै छुट छैन । यद्यपि यो सरकार बनेकै दिन देखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू विभिन्न प्रकारका चलखेल र षड्यन्त्रमा लागिसकेका छन । कतिपय पार्टीहरू भित्रै पनि षड्यन्त्रका तानाबाना बुनिँदैछन । यी चुनौतीहरूले वर्तमान गठबन्धनलाई अझ घनिष्ठ रुपले एकताबद्ध हुन र अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत पनि गर्नेछ । त्यसैकारण वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति प्रति गम्भीर बन्दै सरकारमा रहेका सबै घटक माझको नीतिगत एकतालाई बलियो बनाउन, उपरोक्त कार्यभार अनुरुप मुलुकलाई अघि बढाउन, मिटर ब्याजी पीडित र दुग्ध पीडित किसानहरूका समस्या तुरुन्त समाधान गर्न र मुलुकलाई संविधानको भावना अनुरुप समाजवादको दिशामा अघि बढाउन नयाँ गठबन्धनको सरकार दृढ भएर अघि बढ्न सकोस । नयाँ मन्त्रिमण्डललाई हाम्रो हार्दिक शुभकामना !!!

नेपाली जनता सधैँ अग्रगति र प्रगतिका पक्षमा छन । न्याय, सुशासन र समृद्धिका पक्षमा छन । तर कुनै पनि प्रकारका अन्याय, कुशासन, ढिलासुस्ती, प्रतिगमन, भ्रष्टाचार र आत्मसमर्पणका पक्षमा छैनन । आम जनता मुलुकका हर क्षेत्रमा सकारात्मक परिवर्तनका पक्षमा छन । त्यसैले नयाँ गठबन्धनमा आबद्ध सम्पूर्ण नेता र कार्यकर्ता साथीहरु, हामीहरु देश र जनताका चाहना र आवश्यकता प्रति संवेदनशील बनौँ, देशले सामना गरिरहेको चौतर्फी संकटका बारेमा गम्भीर बनौँ, मुलुकको समग्र सामाजिक–आर्थिक संरचनामा व्यापक सुधार र परिवर्तनका प्रगतिशील नीति, कार्यक्रम र बजेट बनाऔँ । तिनीहरूलाई प्रभावकारी ढङ्गले लागू गरौं, सरकारमा मात्र होइन जनताको अवस्थामा परिवर्तन ल्यायौं, अशल काम र सेवा गरेर सरकारप्रति जनतामा गहिरो विश्वास सिर्जना गरौं, आपसी एकतालाई हर प्रकारले सुदृढ बनाऔं र नेपाली जनता र राष्ट्रलाई स्थीरता, शान्ति, विकास, परिवर्तन र समृद्धि तिर अघि बढाऔँ । यो यात्रामा सबै वामपन्थी पार्टीहरूले आत्मकेन्द्रित चिन्तन र स्वार्थबाट मुक्त भएर जनता र देशको हितलाई केन्द्र बिन्दुमा राख्दै साझा सवालमा सुदृढ एकता कायम गर्दै अघि बढ्न जरुरी छ । आज जनता र देशले हामी सबैबाट यहि कुराको माग गरिरहेका छन ।

हाम्रो पार्टीका समस्त नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुक कमरेडहरु १ अहिले हाम्रो पार्टी नयाँ समिकरणमा आबद्ध भएको छ । यो आजको ऐतिहासिक आवश्यकता हो । यो आफैमा कार्यगत एकता हो । यो एकतालाई सुदृढ बनाउँदै र मुलुकलाई अग्रगति तिर अघि बढाउँदै हामीले हाम्रो गौरवमय पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक हर हिसाबले सुदृढ गर्नुपर्छ, राष्ट्रिय महाअधिवेशनको तयारी कार्यलाई हर दृष्टिले तीव्र बनाउनुपर्छ र महाअधिवेशन मार्फत एउटा सबल, सुदृढ र गतिशील पार्टी बनाउने एकिकृत उद्देश्यका साथ अघि बढ्नुपर्छ । तब मात्र हामीहरु आफूलाई बलियो र सुदृढ बनाउँदै मुलुकको अग्रगमनको यात्रामा महत्वपूर्ण योगदान गर्न सक्नेछौं ।



प्रतिक्रिया दिनुहोस्