काठमाडौं, २६ फागुन । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्र मिलेर नै देशलाई समृद्धितर्फ डोर्याउने बताएका छन् । एकले अर्कोलाई निषेध गर्दा समृद्धिको लक्ष्य हाँसिल गर्न नसकिने उनको भनाई छ ।
‘मेरो राष्ट्र : मेरो उत्पादन र विश्व बजार’ मूल नाराका साथ आज (शनिबार) बाट सुरु भएको नेपाल तयारी पोशाक उद्योग संघको २९औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उपप्रधानमन्त्री महासेठले देश बनाउने जिम्मा सरकार र निजी क्षेत्र दुवैको भएको सुनाए ।
सम्बोधनको क्रममा उनले भने,‘हामी तीन वर्षपछि सरकारमा आएका छौं । हामीले सरकार छोड्दाको अवस्थामा आर्थिक वृद्धिद्धर कति थियो ? र अहिले कति छ ? त्यो हेरौं, हाम्रो पार्टीका श्रद्धय अध्यक्ष कमरेड केपी ओलीले सरकारको नेतृत्व गर्दा संसारमै १० उच्च आर्थिक वृद्धिद्धर हाँसिल गर्ने देशहरुमध्ये नेपाल परेको थियो । त्यतिवेला हाम्रो आर्थिक वृद्धिद्धर ७.१ प्रतिशत थियो । अहिले २ प्रतिशत पनि पुगेको छैन् । अहिलेको पोजिसन हेर्ने हो २ भन्दा मुनि नै छ ।’
उपप्रधानमन्त्री महासेठले अहिलेको सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने र विकासका एजेण्डामा हातेमालो गर्ने विश्वास दिलाए । उनले भने,‘सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ । नत्र आर्थिक क्षेत्रमा फड्को मार्न सकिँदैन् । सरकारले निजी क्षेत्रलाई बाइपास गरेर अघि बढ्छु भन्यो भने सरकार सफल हुँदैन् । अनि निजी क्षेत्रले पनि सरकारलाई उपहास गरेर अघि बढ्नसक्दैन् । अहिले हामी सरकारमा आएको ७ दिनपनि भएको छैन् । हिजो पनि गठबन्धनको सरकार थियो । आजपनि गठबन्धनको सरकार छ । तर, गाडी सवार हुँदा ड्राईभरलाई धेरै डिस्टर्ब गर्यो भने गाडी एक्सिडेन्ट हुने सम्भावना हुन्छ । बसभित्र बस्ने प्यासेन्जरहरुले पनि बसलाई कसरी सुरक्षित गन्तव्यमा पुर्याउने भनेर जिम्मेवारी लिनुपर्छ । त्यसमा अलिकति सचेत हुनुपर्छ । आशा गरौं अब हिजोभन्दा आज अलिकति सुधार हुन्छ ।’
उनले वर्तमान सरकारबाट हुने सबैखाले सहयोग गर्न तयारी पोशाक उद्योगीहरुलाई सरकार तयार रहेको सुनाए । उनले तयारी पोशाक उद्योगपनि नेपालको अर्थतन्त्रको बलियो आधार भएको सुनाए ।