काठमाडौं,२७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पनर्गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
आइतबार जनता समाजवादी पार्टी नेपालबाट अध्यष उपेन्द्र यादवसहित २ मन्त्री थपिएपछि सरकारले पूर्णता पाएको हो । आइतबार यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीको शपथ लिँदा जसपाकै नवलकिशोर साह सुडीले वन तथा वातावरण मन्त्रीको शपथ लिएका छ्न ।
यससँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेका छन् ।
यसअघि नै मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन् । आइतबार जसपा अध्यक्ष यादव पनि थपिएपछि उपप्रधानमन्त्रीहरुको संख्या चार पुगेको हो ।
सोमबार प्रधानमन्त्री प्रचण्डले नयाँ सत्रा गठबन्धन बनाएपछि बुधबार नै अन्य उपप्रधानमन्त्री तथा मन्त्रीहरुले शपथ लिएका थिए । तर, मन्त्री चयनको विषयमा विवाद हुँदा जसपा सामेल भएको थियो । मन्त्री चयनको विषयमा विवाद भनिएपनि उपेन्द्रले प्रचण्ड सरकारमा पहिलो वरियतामा आफू उपप्रधानमन्त्री रहनुपर्ने अडान राखेपछि कुरा नमिलेको स्रोतको दाबी छ । तर, गृह र अर्थजस्ता शक्तिशाली मन्त्रालय अरु पार्टीलाई छाडेको एमालेले पहिलो वरियता छाड्न नमानेपछि बुधबार जसपा सरकारमा सामेल नभएको बुझिएको छ ।
बुधबार पहिलो वरियता खोजेका उपेन्द्रले आइतबार भने चौथो वरियता पाएका छन् । उनी रास्वपाका सभापति रवि लामिछानेभन्दा पनि तलको वरियतामा रहेर सरकारमा सामेल भएका हुन् । २०६५ सालदेखि लगातार मन्त्री र उपप्रधानमन्त्री भइरहेका यादव रवि लामिछानेभन्दा तलको वरियतामा रहने भएका छन् । यसअघि नारायणकाजी रघुवीरभन्दा तलको वरियतामा गएको भनेर माओवादीमा आलोचना भइरहेको छ ।