काठमाडौं,२७ फागुन । राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण भएको छ ।
आज बसेको पार्टी कार्य सम्पादन समितिको बैठकका क्रममा अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर पार्टीको कार्यसम्पादन समितिका सदस्य श्रेष्ठ कुटिएका हुन् । महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले उनीमाथि हातपात गरेको बताईएको छ ।
पार्टीको बैठकमा श्रेष्ठले पाण्डेलाई भ्रष्टचारीको संज्ञा दिँदै कडारुपमा आलोचना गरेका थिए । श्रेष्ठले आफूलाई भ्रष्टाचारी भनेपछि पाण्डे बैठकबाट बाहिरिएका थिए । पाण्डे बाहिरिएपछि केही समयका लागि बैठक स्थगित भएको थियो । स्थगित बैठकबाट बाहिर निस्कन लाग्दा श्रेष्ठमाथि आक्रमण भएको हो ।
कार्यसम्पादन समितिका सदस्यका अनुसार ठाकुरमोहनको शरीरमा चोटपटक लागेको छ । ठाकुरमोहन पूर्व एआइजी हुन् । उनी आफ्नो नेतृत्वको पार्टी राप्रपामा विलय गराएपछि केन्द्रीय कार्यसम्पादन समिति सदस्य बनेका थिए ।