Logo

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन: यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं,२८ फागुन । भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि कार्यसूची प्रकाशीत भएको छ । संघीय संसद सचिवालयले दिएको जानकारी अनुसार भोलि बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्नेछ ।

संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।

यस्तै गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । त्यसपछि सभाको अध्यक्षका गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

निर्वाचन कार्यक्रमअनुसार सोमबार शर्मा र दाहालले अध्यक्ष पदमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन सकिएपछि आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने पाण्डेयले जनाएका छन् ।

अध्यक्षका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट युवराज शर्मा र सत्ता गठबन्धनका तर्फबाट नारायण दाहालले उमेदवारी दिएका छन् । दाहालको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामी छन् । समर्थकमा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहाल र एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद खालिद छन् ।

त्यस्तै शर्माको प्रस्तावकमा कांग्रेस सांसद आनन्द ढुंगाना र समर्थकमा किरणबाबु श्रेष्ठ छन् । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का शेखरकुमार सिंह पनि उनको समर्थनमा छन् ।

राष्ट्रियसभामा सत्ता गठबन्धनको सहज बहुमत छ । ५९ सदस्यीय राष्ट्रियसभामा एकजना मनोनीत गर्न बाँकी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । यसरी हेर्दा राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् ।

राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेसका १६ सांसद छन् । लोसपाका एक, राष्ट्रिय जनमोर्चा एक सदस्य छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम छन् । गौतमले पनि दाहाललाई नै मत दिने निश्चित जस्तै रहेको छ ।



प्रतिक्रिया दिनुहोस्