काठमाडौँ, २८ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ । राप्रपाको आज (सोमबार) सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
शनिबारदेखि केन्द्रीय कार्यालयमा बसेको राप्रपाको बैठक आज सम्पन्न भएको हो । बैठकले प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने तथा समर्थन गर्नुपर्ने परिस्थिति आए पार्टीले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर अगाडि बढ्ने लिने निर्णय गरेको हो ।
इलाम र बझाङमा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । बैठकले उम्मेदवार छनोटका लागि सम्बन्धित प्रदेशका पार्टी अध्यक्षले सम्बन्धित जिल्लाका अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरेको राप्रपाले जनाएको छ ।
Photo By: Mukunda Kalikote/ReportersNepal